नेशनल प्याब्सन कास्कीको २७ औँ वार्षिक साधारण सभा

हिमाली आवाज । नेशनल प्याब्सन, कास्कीको २७ औँ वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले पछिल्लो समय भएको जेन–जी आन्दोलनको क्रममा भएको विध्वंसले हजारौँ विद्यार्थी शिक्षण सिकाइबाट वञ्चित भएको बताउनुभयो।

“नेपाल सरकारले नै शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा घोषण गरेको छ, जहाँ राजनीतिक हिसाब या अरू कुनै पनि तवरले विद्यालय माथि प्रहार हुनु हुँदैन। तर यो आन्दोलनका क्रममा भएको विध्वंसले विद्यालय पनि अछुतो रहन सकेन ।” अध्यक्ष न्यौपानेले भन्नुभयो ।

पोखरा महानगर पालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्ण प्रसाद भण्डारीले पोखराका शैक्षिक गुणस्तर वृद्धि गर्नका निजी विद्यालयको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा कास्कीका सल्लाहकार राम बहादुर मोचीले संस्कार सहितको स्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो ।

नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्काले हरेक आन्दोलन र संघर्षमा निजी विद्यालयका सञ्चालक मारमा पर्ने गरेको बताउँदै शिक्षा पेसामा भएकाले हामी थप जिम्मेवार भएको अगाडि बढ्नु पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, मन्टेश्वरी एसोसिएसन कास्कीकी अध्यक्ष भवानी अधिकारी, संगम पब्लिकेशनका ऋषिराम शर्मा भण्डारीले भनाई राख्नुभयो ।

कार्यक्रममा नेशनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी, लेखा समिति संयोजक दिपु भारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेशनल प्याब्सन कास्कीकामा आबद्ध नयाँ विद्यालय न्यु लिटिल स्टेप इंगलिस बोर्डिङ स्कुल पोखरा–१ भिमकालिपाटन बगरका संस्थापक प्रिन्सिपल सुरेन्द्रराज पाण्डे लाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Comments
Loading...