हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखी पोखरादेखी काठमाडौँ उपत्यका, लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रदेशतर्फ जाने लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।
देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै यही असोज २० गतेसम्म लामो दूरीका सवारी साधनको आवतजावत पूर्णरूपमा रोक्ने निर्णय गरिएको प्रशासनले आज जारी गरेको सूचनामा जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार गण्डकी प्रदेशका विभिन्न भूभागमा बाढी, पहिरो र डुबानको जोखिम रहने अनुमानका आधारमा पोखराबाट लामो दूरीका सवारी साधन अस्थायी रूपमा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सर्वसाधारणको ज्यान र सुरक्षालाई ध्यानमा कास्की हुँदै अन्य प्रदेशतर्फ जाने र काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सबै लामो दूरीका सवारी साधनको आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ । मौसम सामान्य नभएसम्म यात्रुहरूलाई अनावश्यक आवतजावत नगर्न, रातको समयमा यात्रा टार्न र आवश्यक परे नजिकैका प्रशासनिक निकायसँग समन्वय गर्न समेत अनुरोध गरेका छौँ ।”
पोखरामा प्रधान कार्यालय रहेर देशका ६८ जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले समेत आफ्ना सबै लामो दूरीमा चल्ने गाडीहरु सञ्चालन बन्द गरिएको कम्पनीका अध्यक्ष एनकुमार साइले बताउनुभयो ।
प्रशासनले अन्य जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अनुरोध गर्दै म्याग्दी, पर्वत, बाग्लुङ र स्याङ्जाबाट कास्की हुँदै विभिन्न प्रदेशतर्फ जाने सवारीसाधनहरू तत्कालै रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको जनाएको छ ।