पोखराबाट अत्यावश्यक सवारी सञ्चालनमा

हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक सवारी साधनहरुको सञ्चालनमा अनुमति दिएको छ ।
पोखरादेखी काठमाडौँ उपत्यका, लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रदेशतर्फ जाने लामो दूरीका सार्वजनिक यातायात शनिबारदेखी सञ्चालनमा रोक लगाइएको थियो ।
प्रशासनमा आज बसेको निजी क्षेत्र, पर्यटन व्यवसायी, यातायात व्यवसायी, होटल व्यवसायी लगायत बीचको विपद् समन्वय बैठकले सो निर्णय गरेको हो ।
एम्बुलेन्स, वैैदेशिक यात्राको हवाइ टिकट बोकेका यात्रुहरु,विरामी बोकेका साना सवारी साधन तथा दूध, फलफूल, तरकारी लगायतका अत्यावश्यक सवारीलाई प्रहरीले अन्तर जिल्ला समन्वय गरी सञ्चालनमा सहजीकरणको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गन्तव्यस्थल र रुटमा पर्ने जिल्लाको जोखिम अवस्था बुझेर अत्यावश्यक सवारी चल्नेछन् ।यसैगरी राजमार्गमा एम्बुलेन्स,गर्भवती तथा अशक्त व्यक्तिहरु बोकेका सवारी साधनहरु रोकिएको भएमा सञ्चालनमा सहयोग गरिने प्रशासनले जनाएको छ ।
यसैगरी बैठकले यातायात व्यवसायीले काठमाडौँ उपत्यका र पूर्वतर्फ जाने लामो दूरीका सवारी साधनको कुनै पनि टिकट नकाट्ने तथा कास्की, बाग्लुङ, पर्वत र तनहुँ, म्याग्दी लगायतका अन्तर जिल्लामा आवतजावतमा समस्या नभएकाले यातायात सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी बैठकले यही असोज २० गतेसम्म वर्षाको पूर्वानुमान रहेकाले तत्कालको लागि पर्यटकहरुलाई पदयात्रामा नपठाउनका लागि पर्यटन व्यवसायी, होटल व्यवसायी र पदयात्रा व्यवसायीले सहजीकरण गर्ने निर्णय गरिएको छ ।
बैठकले सवारी साधन सञ्चालन नहुँदा पोखरामा बस्नुपर्ने बाध्यता भएका यात्रुहरुलाई होटल व्यवसायीले सुलभ दरमा खाने तथा बस्ने व्यवस्था मिलाउने निर्णय भएको प्रशासनले जनाएको छ ।

Comments
Loading...