हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीका संस्थापक अध्यक्ष शहिद शरद कुमार गौचनको आठौँ स्मृति दिवसमा आज उहाँको तस्बिरमा माल्र्यापण गरी स्मरण गरिएको छ ।
नेपाल निर्माण व्यवसायी संघले संघको कार्यालयमा स्मृति दिवस कार्यक्रम आयोजना शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।संघका अध्यक्ष लिलकाजी गुरुङले शहीद गौचन सबैका लागि प्रेरणाका स्रोत रहेको बताउनुभयो । संघ जहिले पनि शहीदप्रति ऋणी रहेको र शहीद गौचनले निर्माण क्षेत्रको विकास लगायत समाजसेवामा तत्पर रहने गरेको बताउनुभयो ।
“शहीद गौचनले देखेका सपनाहरु पूरा गर्ने दायित्व हामीहरुको काँधमा छ । उहाँका अधुरा सपना पूरा गर्न सके मात्र उहाँप्रति साँचो सम्मान हुनेछ ।” अध्यक्ष गुरुङले भन्नुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले स्व गौचनको जीवनी र उहाँले गर्नुभएको योगदानका बारेमा चर्चा गर्नुभयो । संघका सचिव डम्बरराज ढकालले शहीद गौचनले संघको भवन निर्माण लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
स्मृति दिवस कार्यक्रममा संघका प्रमुख सल्लाहकार शिवशंकर गौचन, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं संघका सल्लाहकार सुरेश श्रेष्ठ, गण्डकी प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष टंकराज बराल, संघका पूर्व अध्यक्षहरु राजेन्द्र पहारी, मुक्तिप्रसाद तिमिलिस्ना, ऋषिराम गौतम, वासुदेव गौचन, ओमप्रसाद गौचन लगायतका निर्माण व्यवसायी संघका नेताहरु, संघका पदाधिकारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष समेत रहनुभएका गौचनको विसं २०७४ असोज २३ गते काठमाडौँमा गोली हानी हत्या गरिएको थियो ।