हिमाली आवाज । “व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार” भन्ने नारासहित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको आयोजनामा तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा सञ्चालन भएको छ ।
सो तालिम तालिम यही असोज २३ गतेदेखी सुरु भएको हो । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले २०७५ सालदेखि नै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्तरमा तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गाउँगाउँमा प्रयोगात्मक ढङ्गले समुदायसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
तालिममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा प्रशिक्षकहरूले सहजीकरण गरिरहनुभएको छ ।

कार्यक्रममा प्रशिक्षण आवश्यकता मूल्याङ्कन, पाठ्यक्रम डिजाइन, सत्र उद्देश्य निर्धारण, प्रशिक्षण विधिको छनोट, प्रस्तुतीकरण सीप, प्रशिक्षण व्यवस्थापन, सहभागितामूलक सिकाइ र समन्वयका विविध पक्ष समेटिएका छन् ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान गण्डकी प्रदेश सरकार मातहतको एकीकृत तालिम केन्द्र (स्टाफ कलेज) को रूपमा स्थापित संस्था हो । प्रदेश तथा स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि र नियुक्त पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि संस्थाले कार्य गरिरहेको छ ।
उद्घाटन कार्यक्रम गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिम संयोजक एवम् निर्देशक लक्ष्मण तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभयो । यही असोज २७ गतेसम्म सञ्चालन हुने तालिममा यस क्षेत्रका ३२ जना सहभागी रहेका छन् ।