कास्की आइडलमा टपटेन छनोट

हिमाली आवाज । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी कास्की आइडलको टपटेन छनोट चरण सम्पन्न भएको छ ।

आइडलमा गायन र नृत्य विधामा प्रतियोगीहरूले आफ्ना प्रस्तुति राखेका छन् । गायनतर्फ सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, सन्तोष विके, सुरज परियार र दीपक सुनार टपटेनमा छनोट हुनुभयो । त्यसै गरी, नृत्यतर्फ कृपा विके, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर टपटेनमा पर्नुभएको छ ।

रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रूपा गाउँपालिका–२ का वडाध्यक्ष राजन सुवेदीले प्रतियोगिताबाट अब्बल कलाकार जन्मिने विश्वास व्यक्त गर्नुभयो । गायकसमेत रहनुभएका सुवेदीले गायन र नृत्यका क्षेत्रमा कास्की आइडलले वास्तविक आइडलको जन्म हुने भन्दै स्थानीय तहहरूले कला, साहित्य र सङ्गीतका क्षेत्रमा लगानी गर्न हिच्किचाउन नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा निराजन कोइराला, सुदिप ढुङ्गाना, सुवास खड्का तथा कराते प्रशिक्षक विनोद नेगीलगायतले शुभकामना दिनुभयो । रूपा वाङ्मय प्रतिष्ठानका आजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य तथा स्थानीय प्रतिभा पहिचानमा यसको भूमिकाबारे प्रकाश पार्नुभयो । कार्यक्रममा स्वागत गीत सनम गुरुङले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सफल सञ्चालन ज्योति खड्काले गर्नुभयो ।

Comments
Loading...