हिमाली आवाज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मिति फागुन २१ गतेनै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्वोधन गर्दै उहाँले सरकारले निर्वाचनको वातावरण बनाउन जनाधार भएका पार्टीहरुसँग छलफल गरेर चुनावी वातावरण थप सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
संयोजक दाहालले भन्नुभयो,“चुनाव तोकिएको मिति फागुन २१ गतेनै हुनुपर्छ । त्यसका लागि सरकारले जनाधार भएका पार्टीका नेतासँग छलफल गर्नुपर्दछ । जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन। ”
संयोजक दाहालले देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताउनुभयो । उहाँले अघिल्लो सरकारले दुई तिहाई बहुमतको घमण्ड गर्दा राष्ट्रले ठूलो क्षति बेर्होनुपरेको समेत जिकिर गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले भन्नुभयो,“हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ। सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौ । तर सरकारबाट हटाइयो । अघिल्लो पटक हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन । आगामी निर्वाचनमा पहिलो शक्ति बनेर राष्ट्रियता र सुशासनका लागि विगतका कमीकमजोरी सच्चाएर नेपाली कम्युनिष्ट पार्टीले काम गर्नेछ । ”
उहाँले विभिन्न १७ घटकसँगको पार्टी एकता चुनाव जित्नका लागि मात्र नभएको उल्लेख गर्नुभयो । “हामीले सुरु गरेको पार्टी एकता अभियान चुनाव जित्ने उद्देश्यका लागि मात्र होइन । राष्ट्रको रक्षा, स्वाधिनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि हामीले कम्युनिष्ट एकता र लोकतान्त्रिक शक्तिहरुसँगको सहकार्यमा जोड दिएका छौँ । ” उहाँले भन्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले राजनीतिक अस्थिरताको अन्त्यका लागि निर्वाचन हुनै पर्ने बताउनुभयो । उहाँले देशको रक्षा गर्ने जिम्मेवारी नेकपाको रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“राष्ट्रका सामु अहिले ठूलो संकट सिर्जना भएको छ । यसको अन्त्यका लागि निर्वाचनको विकल्प छैन । देशको रक्षाका लागि समेत वृहत् र बलियो कम्युनिष्ट पार्टी आवश्यक छ । ”
पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपालाई नेताप्रधान नभई विधि र पद्धतीमा चल्ने पार्टी बनाउनुपर्ने बताउनुभयो । “हामी विधि र पद्धतीलाई अनुसरण गर्ने पार्टी बनाउन चाहेका छौँ । अव विगतको जस्तो नेता प्रधान हुने पार्टी चल्दैन । ” उहाँले भन्नुभयो ।
नेकपाका नेता भीम रावलले विगतका गल्तीहरुमा माफी माग्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो । “विगतका कमीकमजोरीलाई आत्मसाथ् गर्दै सच्चिएर मात्र बलियो र एकतावद्ध पार्टी निर्माण गर्न सकिन्छ । स्वाधीनता बलियो भएको नेपाल बनाउन सकिन्छ । त्यसका लागि पार्टीका सबै नेता कार्यकर्ताले त्याग र सर्मपण आवश्यक छ ।” नेता रावलले भन्नुभयो ।
नेता नारायणकाजी श्रेष्ठले रुपान्तरित एकीकृत पार्टी आवश्यक रहेकाले सबैले आफूले आफैँलाई बदल्नुपर्ने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान अझै पूरा भएको छैन । त्यसका लागि पार्टीको रुपान्तरण गर्नु पर्दछ ।”
सभामा नेताहरु देव गुरुङ, नेकपाका नेता समेत रहनु भएका पोखरा महानगर प्रमुख धनराज आचार्य, राजु थापा,डा लक्ष्मी ओली,दीननाथ शर्मा, गायत्री गुरुङ, श्रीनाथ बराल लगायतले जनताको आवश्यकता र अपेक्षा पूरा गर्ने पार्टी निर्माणको आवश्यकता औल्याउनुभएको थियो ।
गरी खान देउ भन्दै व्यवसायीको विरोध
यसैबीच पोखराको चिप्लेढुँगा मानव अधिकार चाेकका व्यवसायीले सटर बन्द गरेर नेकपाले गर्न लागेको कार्यक्रमको विरोध गरेका छन् । मुख्य बजार क्षेत्रमा कार्यक्रम गर्दा आफूहरुको व्यवसाय चौपट हुने भन्दै उनीहरुले विरोध गरेका हुन् । चिप्लेढुँगामा कुनै पनि राजनीतिक दलले कार्यक्रम गर्न नहुने उनीहरुको पहिलादेखीको माग हो ।

पोखराको मानव अधिकार चोकस्थित ट्रेडमलका व्यवसायीहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभाको विरोध गरेका हुन् । व्यवसायीहरूले ट्रेडमल क्षेत्रअगाडि पार्टीको कार्यक्रम राखिँदा व्यवसाय ठप्प पर्ने, ग्राहक आवतजावत र सुरक्षा वातावरणसमेत कमजोर हुने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनीहरूले गरि खान देउँ, व्यवसाय चल्न देउँ लगायतका प्लेकार्डसहित विरोध गरेका हुन् ।


