नेपाल ह्याण्डबल संघको अध्यक्षमा तिमिल्सिना, महासचिवमा पोखराका पाठक निर्वाचित

हिमाली आवाज । पर्यटकीय राजधानी पोखरामा सम्पन्न नेपाल ह्याण्डबल संघको महाधिवेशनबाट संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ ।

पोखरामा बिहीबार सम्पन्न महाधिवेशनले आगामी चार वर्षका लागि सुनसरीका तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ खेलकुद विकास ऐन जारी भएपछि संघको पहिलो महाधिवेशन भएको हो ।
संघको उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित हुनुभयो । यसैगरी महासचिवमा केशव पाठक, सचिवमा महेन्द्रबहादुर पुन र कोषाध्यक्षमा तस्बिरा तामाङ रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत रहनुभएको छ । रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन समिति संयोजक कमल अर्यालले जानकारी दिनुभयो ।
महाधिवेशनमा ४८ जिल्लाका प्रतिनिधिले भाग लिएको नवनिर्वाचित महासचिव पाठकले जानकारी दिनुभयो ।

पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल लामो समय अघि सकिए पनि विविध कारणले महाधिवेशन हुन सकेको थिएन । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य–सचिव समेत रहनुभएका गुरुङले यसअघि दुई कार्यकालसम्म संघको नेतृत्व गर्नुभएको थियो ।
महाधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताउनुभयो ।

अन्तरिम केन्द्रीय समिति अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय ह्याण्डबल संघका प्रतिनिधि मोहम्मद शफिक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य हिमाल कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...