आइटिएफ टेनिस:नेपालकी शिवालीलाई दोहोरो उपाधि

हिमाली आवाज । पोखरा रङ्गशालाको टेनिस सेन्टरमा सञ्चालन भएको आइटिएफ जे ३० टेनिस टुर सर्किट–१ अन्तर्गत नेपालकी शिवाली गुरुङले दोहोरो उपाधि जितेकी छन् ।प्रतियोगिताको शनिबार सम्पन्न महिला ‘एकल’ र ‘डबल्स’ दुबै विधाको उपाधि जित्दै शिवालीले इतिहास रच्न सफल भइन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको ‘ब्वाइज सिंगल्स’तर्फ भने कोरियाका हियोजिन युल हो जुङले उपाधि जिते । उनले श्रीलंकाका गानुका फर्नान्डोलाई रोमाञ्चक टाइब्रेकमा ६–२, ६–७(७) ले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
‘गल्र्स सिंगल्स’तर्फ नेपालकी शिवालीले चाइनिज ताइपेइकी के–ची सुलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै उपाधि आफ्नो पोल्टमा पार्न सफल भएकी हुन् ।
नेपाली जुनियर टेनिस खेलाडी शिवालीले सबैभन्दा कम उमेरमा आइटिएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् ।
उनले १४ वर्षको उमेरमा पहिलो पटक ‘सिंगल्स’ र ‘डबल्समा’ दोहोरो उपाधि जित्दै ३७ अङ्क समेत प्राप्त गरिन् ।शिवाली अर्को महिना अस्ट्रेलियामा आयोजना हुने ‘ग्राण्डस्लाम’ अस्ट्रेलियन ओपन इलाइट ट्रफी –२०२६ मा सहभागी हुने पहिलो नेपाली खेलाडी समेत बनेको नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले बताउनुभयो । ‘डबल्स’तर्फ शिवाली र युलनै विजेता बने ।

‘ब्वाइज डबल्स’मा युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्यो । ‘गल्र्स डबल्स’मा शिवाली गुरुङ र के–ची सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि चुमेका हुन् ।

पहिलो सर्किट अन्तर्गतका विजेताहरूलाई संघका उपाध्यक्ष कायस्थ, कास्की टेनिस संघका निवर्तमान अध्यक्ष लोक बहादुर गुरुङ, सल्लाहकारद्वय गोपी भट्टराई र सूर्य बहादुर भुजेल लगायतले मेडल तथा प्रमाणपत्र प्रदान गुर्नभयो ।

टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार पहिलो सर्किट शनिबार सम्पन्न भएसँगै दोस्रो सर्किटको ‘क्वालिफायर राउन्ड’ शनिबारबाटै सुरु भइसकेको छ भने मुख्य खेलहरू सोमबारबाट सुरु हुनेछन् ।यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे–३० सर्किट १ र २ मा १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको छ ।

Comments
Loading...