हिमाली आवाज । पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड टेनिस सर्किट–२ को प्रतियोगितामा नेपालकी शिभाली गुरुङले ‘गल्र्स सिंगल्स’तर्फ फाइनलमा स्थान बनाएकी छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार उनले उत्कृष्ट प्रदर्शन गर्दै महिला एकलतर्फ उपाधि नजिक पुग्न सफल भएकी हुन्।
गुरुङले भारतकी कर्थिका पद्मकुमारलाई संघर्षपूर्ण खेलमा ६–३ ५–७ ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी छन् । उनले जारी प्रतियोगिताको सर्किट १ मा समेत उपाधि जितेकी थिइन् ।
उनले फाइनलमा सर्किट १ कै उपविजेता रहेकी ताइपेकी के–चि सुसँग भेट पक्का गरेकी छन् । के–ची सुले सेमीफाइनलमा भारतकी शतक्शिका सहायकलाई ६–१ ६–४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन् ।
यसैगरी आजनै सम्पन्न भएको ‘गल्र्स डबल्स’ फाइनलमा ताइपेकी के–चि सुसँग जोडी बनेर उपाधि शिभालीले उपाधि समेत जितेकी छन् । उनीहरुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका हुन् ।
जारी प्रतियोगिता अन्तर्गत ‘ब्वाइज सिंग्लस’मा ताइपेइका टिङ–हो याङले चीनका जियालियाङ गुओलाई ६–२ ६–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा युल हो जुङ (दक्षिण कोरिया) ले गनुका फर्नान्डो (श्रीलंका) लाई ६–३ ६–० ले सहज जित हात पार्दै टिङ हो याङसँग फाइनल भिडन्त पक्का गरेका छन् ।
यसैगरी ‘ब्वाइज डबल्स’ फाइनलमा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६(४) ले पराजित गर्दै उपाधि हात पारे ।
‘सिंगल्स’तर्फका फाइनल खेलहरु शनिबार हुने कास्की टेनिस संघका सचिब भिष्मराज पौडेलले जानकारी दिनुभयो । पोखरामा जारी प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको थियो ।

