पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट तत्काल जडान अघि बढाउने मन्त्री घिसिङको प्रतिवद्धता

हिमाली आवाज । भौतिक पूर्वाधार यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आज पोखरा रङ्गशालाको निरीक्षण गर्नुभएको छ । मन्त्री घिसिङले रङ्गशालाभित्रको अन्तर्राष्ट्रिय फुटबल स्टेडियमको समेत निरीक्षण गर्नुभयो ।

मन्त्री घिसिङलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मीलन गुरूङसहित विभिन्न खेलकुद संस्था एवं प्रदेश खेलकुद परिषदका सदस्यहरुले रङ्गशालमा स्वागत गर्नुभयो ।

सो अवसरमा मन्त्री घिसिङले फुटबल स्टेडियममा फ्लड लाइट(रात्रीकालीन बत्ती) र स्कोरबोर्ड राख्नका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले तत्काल प्रक्रिया सुरु गरेर यसै बर्ष फ्लड लाइट जडान गर्ने समेत जानकारी दिनुभयो ।

“ पोखरा स्पोर्टस् कम्प्लेक्स असाध्यै राम्रो रहेछ । म पहिलो पटक यहाँ आउँदा खुशी लाग्यो । फुटबल मैदानमा फ्लड लाइट जडान गर्नुपर्ने यहाँहरुको माग रहेछ । यसका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर यसै वर्ष काम अघि बढाउने छौँ । साथै भौतिक मन्त्रालयबाट समेत जति सक्दो छिटो बजेट व्यवस्था गरेर निर्माण सम्पन्न गर्न पहल हुनेछ । ” मन्त्री घिसिङले भन्नुभयो ।

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट नहुँदा यहाँ अन्तर्राष्ट्रियस्तरका फुटबल खेलका प्रतियोगिता हुन सकेको छैन । यसैगरी रात्रीकालीन खेलकुद समेत भएको छैन । यो फुटवल स्टेडिएम रु एक अर्ब २८ करोडको लागतमा निर्माण गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डीबी नेपालीले मन्त्री घिसिङलाई पोखरा रंगशालाको बारेमा जानकारी गराउनुभएको थियो । मन्त्री घिसिङले क्रिकेट मैदान, बहुउद्धेश्शीय कभर्ड हल लगायतका खेल पूर्वाधारको समेत अवलोकन गर्नुभएको थियो।

Comments
Loading...