गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी चुनावी सुरक्षा चूनौती बारेमा छलफल गरी सकियो

हिमाली आवाज । पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आसन्न निर्वाचनका लागि सुरक्षा चुनौतीको विश्लेषण गरी आवश्यक रणनीति बनाउने योजा सहित सकिएको छ।

सुरक्षा गोष्ठी गृहमन्त्रालय र गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्धारा संयुक्त रुपमा आज आयोजना गरिएको हो । सुरक्षा गोष्ठीको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्नुभएको थियो । गोष्ठीमा जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दी चुनावको प्रमुख चुनौती रहेको विश्लेषण गरिएको छ ।

गोष्ठीमा तीनवटै सुरक्षा निकायका प्रमुखहरू, प्रदेशका सुरक्षा निकायका प्रमुखहरू, गण्डकीका ११ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू, राष्ट्रिय अनुसन्धान विभाग विभागका मुख्य अनुसन्धान निर्देशक, गण्डकीका प्रमुख सचिवलगायतको रहेको थियो ।

गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभएको थियो ।
“वर्तमान सरकार निर्वाचन गराउनकै लागि गठन भएको हो, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु अहिलेको सरकारको प्रमुख जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “निर्वाचनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ, फागुन २१ मै निर्वाचन सम्पन्न हुन्छ ।”
निर्वाचनका लागि विश्वासको वातावरण सृजना गर्न सरकारका तर्फबाट राजनीतिक दलसहित सरोकार भएका पक्षहरूसँग वार्ता र संवाद भइरहेको गृहमन्त्री अर्यालले बताउनुभयो ।
निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको र प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीति तय गरिने उहाँको भनाई छ ।
जेन जेड आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ७० प्रतिशतलाई कारागार फर्काइएको र लुटिएका हतियार पनि फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अर्यालले बताउनुभयो ।

Comments
Loading...