हिमाली आवाज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कास्की निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।
नेकपा क्षेत्र नं ३ को आज बसेको क्षेत्रीय समितिको बैठकले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संयोजक प्रचण्ड सहित १६ जनाको नाम सिफारिस गरेको हो ।
कास्कीको क्षेत्र नं ३ मा पर्ने अन्नपूर्ण गाउँपालिकाको लेवाडे संयोजक दाहालको जन्मस्थान समेत हो । संयोजक दाहालको वाल्यकाल लेवाडेमा वितेको थियो । त्यसपछि उहाँको परिवार चितवन बसाइ सरेको हो । यस क्षेत्रबाट उम्मेदवार बन्न प्रचण्डलाई पार्टीका नेता कार्यकर्ताले विगतदेखीनै आग्रह गर्दै आएका छन् ।
नेकपाका क्षेत्रीय संयोजक भिबहादुर क्षितिजले संयोजक प्रचण्ड कास्की क्षेत्र नं ३ मा निर्वाचन लड्न आउन चाहेमा उहाँको नाम सर्वसम्मत सिफारिस गरिएको बताउनुभयो । उहाँका अनुसार संयोजक नचाहेमा थप १५ जनाले उक्त क्षेत्रबाट उम्मेदवार चाहना राखेकाले सिफारिस गरिएको छ ।
“संयोजक प्रचण्डसँगको परामर्शमा सिफारिस गरिएको होइन तर यहाँका पार्टीका नेता, कार्यकर्ता र जनताको माग प्रचण्ड आउनुपर्यो भन्ने छ । यो माटोमा जन्मिनुभएको र नेपाली राजनीतिको शीर्षस्थ व्यक्तित्व कमरेड प्रचण्ड उम्मेदवार बन्दा यस क्षेत्रको विकासमा कोसेढुँगा हुनेछ । ” क्षितिजले भन्नुभयो ।
नेकपाले एउटा निर्वाचन क्षेत्रबाट जेनजी समुहका उम्मेदवार सहित कम्तिमा ५ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार पार्टीको क्षेत्रीय कमिटी बैठक बसेर बुधबार नाम सिफारिस गरेको क्षितिजले बताउनुभयो ।
सोही क्षेत्रबाट संयोजक प्रचण्ड सहित पार्टीका केन्द्रीय सदस्यहरू रामजी बराल ‘जीवन’ दुर्गा विक,कृष्ण नेपाली, भीम क्षितिज, रत्नकुमारी गुरुङ, गोविन्दप्रसाद अधिकारी,सिर्जना त्रिपाठी, भानुभक्त अधिकारी, भोजराज पौडेल, बलराम सुवेदी, प्रेम पौडेल र गणेश आचार्यको नाम सिफारिस गरिएको छ । नेकपाले जेनजी क्लष्टरबाट शरणसिंह विश्वकर्मा, सुमन ढुंगाना र प्रसन्न अधिकारीको नाम सिफारिस गरेको छ ।

