फेवाताल किनारमा आइतबारदेखी सडक महोत्सव सुरु हुँदै

हिमाली आवाज । ‘सडक मै खाउ, सडकमै नाचौँ, सडक मै रमाउँ’ को नारा सहित नेपालको पर्यटकीय राजधानी पोखरास्थित फेवाताल किनारमा यही पुस १३ गतेदेखी पोखरा सडक महोत्सव सुरु हुँदैछ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले २७ औं संस्करणको महोत्सव गर्न लागेको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा रेवानका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार महोत्सव फेवाताल किनार लेकसाइडको खहरेदेखी अम्बोटसम्मको साढे तीन किमी क्षेत्रमा पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विषम् परिस्थिति र संकटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष पौडेलले बताउनुभयो ।

हरेक संकटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान(रिभाइभल) गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव पलदायी हुने विश्वास आयोजकको छ ।

अध्यक्ष पौडेलले भन्नुभयो,“कुनै समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा र थाइल्याण्ड जाने परम्परा थियो। तर सडक महोत्सवले यो परम्परालाई तोड्दै पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य का रुपमा स्थापित गरेको छ । खाना, संस्कृति र सङ्गीतलाई प्रवद्र्धन गर्ने महोत्सवले पोखराको पर्यटनमा मात्र नभई समग्र नेपालको पर्यटन विकासमा विशेष स्थान ओगटेको छ । ”

महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरुको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार र पर्यटकहरुका लागि लक्षित विशेष खेलहरु रहेको महोत्सवका संयोजक वसन्त गौतमले बताउनुभयो ।

महोत्सवमा सचेतना मुलक सडक नाटक,पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृर्षि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने छ ।
“पोखरा आफैँमा प्राकृतिक र सांस्कृतिक रुपमा एक खुला सङ्ग्रहालय जस्तै सहर हो । यो सडक महोत्सवले यही पहिचानलाई स्थापित गर्दै पर्यटन तथा अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिएका छौँ । विशेषत जाडो मौसममा सुस्ताउने पर्यटन व्यवसालाई चलायमान बनाउँदै यसले बाह«ै महिना पोखराको सन्देश विश्वभर प्रवाह गरेको छ । ” संयोजक गौतमले भन्नुभयो ।

महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्गेजी नयाँ बर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्दै आएको रेवानका महासचिव विरेन्द्र शेरचनले बताउनुभयो । महोत्सवका लागि लेकसाइड क्षेत्र अहिले सिँगारिएको छ ।

विभिन्न स्थानमा स्वागत व्यानरहरु राखिएका छन् । महोत्सवका कारणले यहाँका होटलहरुको समेत अकुपेन्सी बढेको व्यवसायीले बताएका छन् ।

Comments
Loading...