रवि, बालेन र कुलमानबीच सात बुँदे सहमति,रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण हुने

हिमाली आवाज । आगामी फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची बुझाउने अन्तिम दिन सोमबार रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङबीच सातबुँदे सहमति भएको छ।सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकीकरण हुने भएको छ।

पहिलो पक्ष र दोस्रो पक्षबीच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, दलको झण्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति पनि नेतात्रयबीच भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल, र स्वर्णिम वाग्ले रहने सहमति पनि भएको छ ।
उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरू सँग जोड्दै, एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने सहमति पनि उनीहरूबीच भएको छ।

यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने सहमति पनि तीन नेताहरूबीच भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने सहमति पनि उनीहरूबीच भएको छ।

जेनजी अभियन्ता सुधन गुरुङको पहलमा रास्वपा नेता असीम शाहको कमलपोखरीस्थित घरमा तीन नेताहरुबीच सहमति भएको छ।

Comments
Loading...