हिमाली आवाज । आईसीसी टी–२० विश्वकप ‘ट्रफी टुर’ अन्तर्गत पोखरामा आज ट्रफी प्रदर्शन गरिएको छ । विश्वकपको ट्रफी सोमबार नेपाल ल्याइएको थियो । पोखरा ल्याइएको विश्वकप ट्रफी पोखरा रङ्गशालामा समेत प्रदर्शनका लागि राखिएको थियो ।
ट्रफी टुर अन्तर्गत ट्रफी प्रदर्शन तथा दृश्यात्मक तस्बिर खिच्ने कार्यक्रम गरिएको थियो । आईसीसी टी–२० विश्वकप ट्रफीको पोखरा भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनसँगै क्रिकेटप्रतिको आकर्षण अझ बढ्ने विश्वास गरिएको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।
आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुँदैछ । उक्त विश्वकपमा नेपाल पनि सहभागी हुँदैछ र नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल ल्याइएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेट खेलले खेलाडी र दर्शकलाई समेत उत्साहित बनाइएको बताउनुभयो ।
ट्रफी अवलोकन गर्दै उहाँले नेपालमा क्रिकेटमा छुट्टै आकर्षण बढेको उल्लेख गर्नुभयो । “नेपाली खेलाडीहरुले आइसीसीका प्रतियोगिताहरु खेल्ने क्रम वृद्धि भएको छ । यसबाट क्रिकेटको छुट्टै क्रेज बढेको छ, यसबाट सबैलाई उत्साहित बनाएको छ । नेपालमा विश्वकप ट्रफी ल्याउनु क्रिकेट प्रेमी र खेलाडीलाई खुशीको कुरा हो ।” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
युवाहरुको क्रिकेट खेलप्रतिको आकर्षणलाई सम्वोधन गर्नका लागि सङ्घ सरकार प्रदेश सरकार मिलेर आधारभुत खेल पूर्वाधार विकासमा ध्यान दिने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो । मुख्यमन्त्री पाण्डेले आसन्न विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, खेलकुदकर्मी, खेलाडी तथा सर्वसाधारणले ट्रफी अवलोकन गर्नुभयो ।


