हिमाली आवाज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको यस क्षेत्रको सवैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखी सुविधासम्पन्न बाल सघन उपचार कक्ष(पिआइसियु) सञ्चालनमा आएको छ ।
प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ श्ययाको उपचार कक्ष औपचारिक रुपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामान्य अवस्था बाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरुलाई सघन उपचार कक्ष (पिआइसीयू) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो ।
अस्पतालले बाल सघन उपचार कक्षबारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा उपचार गर्ने गरी बाल सघन उपचार कक्षको सिङ्गो युनिट सञ्चालनमा ल्याएको छ । सो कक्षमा सात श्यया दुई महिनाभन्दा ठूला बच्चाका लागि र एउटा सो भन्दा साना बच्चाका लागि प्रयोगमा ल्याइने छ ।
सिकिस्त अवस्थाका बिरामीलाई सामान्य वार्डमा राखेर उपचार गराउँदा जोखिम बढी हुने र संक्रमण फैलन सक्ने भएकाले पीआइसीयूमा राखेर उपचार गराउनु पर्ने हुन्छ ।
“भेन्टिलेटर, बाइ प्याप लगायतका अत्याधुनिक उपकरण, विशेषज्ञ डाक्टर सहितको पिआइसियु सञ्चालनमा ल्याउने हाम्रो प्रयासले सार्थकता पाएको छ । यसमा डेडिकेटेड जनशक्ति हुन्छ । यसबाट गम्भिर अवस्थाका बच्चाहरुलाई उपचारबाट अन्यत्र फिता पठाउनुपर्ने अवस्था अन्त्य भएको छ । ” बास्तोलाले भन्नुभयो ।
यस उपचार कक्षका लागि प्रतिष्ठानले एक जना बालरोग विशेषज्ञ सहित ११ जना चिकित्सक, तालिम लिएका १३ जना स्टाफ नर्स र तीन जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यसअघि रहेको पिआइसियूमा आवश्यक जनशक्ति र उपकरण थिएन । जसका कारणले राम्रोसँग पिआइसियू सञ्चालनमा आउन सकेको थिएन ।
बालरोग विभाग प्रमुख डा बास्तोलाले भन्नुभयो,“पहिलाको पिआइसियू नाम मात्रको थियो । यसैका लागि भनेर जनशक्ति थिएन, अन्य विभागबाट बोलाउनुपर्ने थियो । चाहेर पनि बच्चालाई भर्ना गर्न सकिएको थिएन । अहिले बालबालिकाको लागिनै डेडिकेटेड उपचार कक्षा सुरु गरिएको हो । ”
जटील र गम्भीर अवस्थाका बिरामीहरुलाई २४सैं घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराइने विशेष कक्ष पीआइसीयू हो । जहाँ चिकित्सक, नर्स, कर्मचारी र बिरामीबाहेक अरुलाई आवतजावत गर्न निषेध गरिने अस्पतालले जनाएको छ ।


