नेपाली कलालाई विश्वमाझ चिनाउन पोखरामा प्रदर्शनी हुँदै

हिमाली आवाज । पर्यटकीय राजधानी पोखरामा आजदेखि‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ ।
सृजनशील कलाकार समूह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभयो ।

उहाँले नेपाली कलाकार र कलाकृतिलाई अन्तरराष्ट्रियस्तरमा चिनारी दिन प्रदर्शनीले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । “प्रदर्शनी आफैँमा सिकाइ हो, नेपाली र अन्तर्राष्ट्रिय जगतका कलाकारहरुबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुनेछ”, उहाँले भन्नुभयो, “पोखरालाई कलाका माध्यमबाट विश्वमाझ जोड्न यस्ता कार्यक्रमले मद्दत पुग्छ ।”

आयरल्याण्डका कलाकार लोरा मर्फीले नेपाली कलाकारहरुसँगै प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूहरू उत्साहित भएको बताउनुभयो । उहाँले पोखरा र यस आसपासका क्षेत्रका कलाकारलाई अन्तरराष्ट्रियस्तरका कलाकारहरूसँग जोड्न आफूले पहल गर्दै आएको बताउनुभयो । प्रदर्शनीमा सहभागी हुने विदेशी कलाकारको संयोजन मर्फीले गर्नुभएको हो ।

पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको सृजनशील कलाकार समूहका अध्यक्ष डीबी गुरुङले बताउनुभयो । प्रदर्शनीमा नेपाली ३३ जना र अमेरिका, अष्टे«लिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्याण्डका गरी १५ जना विदेशी कलाकारले सहभागिता जनाएको उहाँको भनाइ छ ।

सात देशका कलाकारका ७० वटा कलाकृतिलाई प्रदर्शनीमा राखिएको हो । “यो प्रदर्शनी नेपाली कलाकार र उनीहरूका कलाकृतिलाई विश्वस्तरका कलाकारमाझ पु¥याउने माध्यम बन्नेछ”, अध्यक्ष गुरुङले भन्नुभयो, “कलाकृतिलाई बिक्रीमा राखिने भएकाले नेपाली कलाकारलाई आर्थिक रूपमा लाभ पुग्नेछ ।” प्रदर्शनी तीन दिनसम्म चल्ने छ । बिहान १० देखि ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने जनाइएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले नेपाली कला र कलाकारलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने र कलामार्फत संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

इसेन्न्स अफ मूलरानीका नेपाल संयोजक डिल्ली तुलाधरले बढीभन्दा बढी विदेशी कलाकारहरुलाई नेपाल ल्याउने र यहाँको अन्तर्राष्ट्रिस्तरमा प्रवद्र्धन र प्रचारप्रसारमा प्रदर्शनी फलदायी रहेको बताउनुभयो ।“नेपालको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि यस कला प्रदर्शनी महत्वपूर्ण छ ।धेरै विदेशी कलाकारको आगमनले नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा वृद्धि हुनेछ । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई सबैबाट सहयोग आवश्यक छ ।”

व्यावसायिक रूपमा चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो । दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुने आयोजक सृजनशील कलाकार समूह, पोखराले जनाएको छ । उक्त प्रदर्शनीमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारले सहभागिता जनाउने भएका छन् ।

Comments
Loading...