हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले स्थानीयलाई अपशब्द बोल्दै खुकुरी नचाएका छन् ।
आफ्नो वडामा सहमति नगरीकन महानगरले ल्याण्डफिल साइट बनाउन लागेको भन्दै वडावासीले आज वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
स्थानीयबासीसँग कुनै सरसल्लाह नगरीकन एकलौटी ढंगले ल्याण्डफिल साइट बनाउन लागेको भन्दै विरोध जनाएका हुन्।
वडा कार्यालयमा तालावन्दी गरेर शान्तिपूर्ण धर्नामा बसेका स्थानीयलाई वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाएर अपशब्द बोलेपछि विवादले उग्र रूप लिएको हो ।
वडाध्यक्ष अधिकारीले खुकुरी नचाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने प्रदर्शनकारीले वडाध्यक्षको निजी गाडी तोडफोड गरेका छन्। प्रदर्शनकारीले गाडीमा आगो लगाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा जानकारी दिनुभयो । उहाँका अनुसार वडाध्यक्ष र प्रदर्शनकारीबीच झडप हुन नदिन पक्राउ गरिएको हो ।वडाध्यक्ष अधिकारीले स्थानीयलाई खुकुरी देखाएर तर्साएको विषयमा अनुसन्धान भइरहेको समेत बताउनुभयो ।
महानगरले पोखरा– ३३ पुँडिटारमा ल्याण्डफिल साइट बनाउने भन्दै मंसिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सार्वजनिक निजी साझेदारीमा सम्झौता गरेको थियो। सम्झौता अनुसार उक्त कम्पनीले ८० करोड रुपैयाँ लगानी गर्ने, ल्याण्डफिल साइट व्यवस्थापनदेखि प्रशोधन केन्द्र निर्माण गर्ने जनाएको छ।

