हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रकुमा हुँदै आएको अन्नपूर्ण म्याराथनको छैटौँ संस्करण यही जेठ २० गते हुने भएको छ ।
अन्नपूर्ण सेन्चुरी पर्यटन विकास समितिको नियमित वार्षिक कार्यक्रम अन्तर्गत अन्नपूर्ण आरोहण दिवस(जुन ३) का दिन वर्षेनी म्याराथन हुँदै आएको छ । आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन विकास समितिले आज पोखरामा पत्रकार सम्मेलन गरी म्याराथनको तयारी अघि बढाइएको जनाएको छ ।
प्रतियोगितामा हालसम्म नेपालसहित ६ देशका ४० धावकले नाम दर्ता गराइसकेको र यस वर्ष विदेशी धावकको सहभागिता बढ्ने अन्नपूर्ण सेन्चुर पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यही जेठ १५ सम्म खेलाडीको नाम दर्ता गर्न सकिने भएकाले स्वदेशी तथा विदेशी धावकहरु अझै बढ्ने विश्वास गरिएको छ ।
अन्नपूर्ण आधार शिविरबाट सुरु हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, छोम्रोङ, घुर्जुङ, मेलाँचे, किम्रोङखोला पार गर्दै घान्द्रुकस्थित श्री मेश्रोम वराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर समापन हुनेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताले क्रमशः नगद रु १ लाख ५० हजार, १ लाख र ७५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैबीच, “अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२” प्रदान गरिने र समापन समारोहमा विविध सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिने भएको छ ।
सन् १९५० को जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गरेका दिनको सम्झनामा आयोजना हुने यस म्याराथनले साहसिक खेलकुद र हिमाली पर्यटन प्रवद्र्धनमा नयाँ योगदान पु¥याउने अपेक्षा गरिएको सचिव मिकास गुरुङले बताउनुभयो । म्याराथनको सम्पूर्ण प्राविधिक काम हिमालयन एक्ट्राईले गर्ने आयोजकले जनाएको छ ।

Comments