फेवातालमा तेस्रो संस्करणको डुँगा दौडमा हर्पन र पहारी घाट विजेता बने

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरास्थित प्रमुख पर्यटकीय आकर्षण फेवातालमा सोमबार राष्ट्रियस्तरको तेस्रो संस्करणको खुला पुरुष तथा महिला डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएकोे छ ।

फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा सो प्रतियोगिता गरिएको हो । फेवा किनार बाराहीघाटबाट सुरु भएको दौडमा सहभागीहरुले तालको अर्को कुनासम्म पुगेर फर्किएर पुनःबाराहीघाट आएर समापन गरिएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ हर्पन मत्स्य सहकारी संस्था प्रथम हुन सफल भएको छ । यस समूहमा कुमार जलारी, गणेश जलारी र कृष्ण जलरी सम्मिलित हुनुहुन्थ्यो ।
यसैगरी टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो स्थान हासिल गरेको छ । बाराहीघाट समूहले तेस्रो स्थान प्राप्त गर्न सफल भयो भने सान्त्वना स्थान तालपारी समूह हुन सफल भयो ।महिलातर्फ सोनी गुरुङ, दिलसुब्बा गुरुङ र सीता श्रेष्ठ सम्मिलित पहारीघाट समूह प्रथम हुन सफल भयो ।

यसैगरी उषा गुरुङ, निर्मला गुरुङ र अस्मिता मगर सम्मिलित तालपारीले द्धितीय अन्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदीबहिनी समूहले तेस्रो स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले रु ३० हजार, द्वितीयले रु २० हजार र तृतीयले रु १० हजारका साथमा ट्रफी,प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई आयोजक समितिका अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, खेलकुद संयोजक बत्ति गुरुङ, आर्थिक समितिका संयोजक बुद्धिनाथ पाण्डे लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताा पुरुषतर्फ १६ र महिलातर्फ आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा– ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल पोखराको गहना भएकाले यसको संरक्षण र सौन्दर्यका लागि तीनै तहका सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो । “फेवाताल संरक्षण गर्नुपर्छ, ताल जलकुम्भीले कुरुप भयो, अतिक्रमण भयो भनेर सबैले भन्छौँ तर त्यसका लागि आवश्यक बजेट भने विनियोजन हुँदैन । ताल जोगाउनका लागि राज्यले लगानी गर्नुपर्छ ।” भट्टराईले भन्नुभयो ।
फेवातालको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप प्रचार प्रसार तथा प्रवद्र्धनका लागि तीन वर्षदेखी लगातार प्रतियोगिता गर्दै आएको डुङ्गा व्यवसायी समितिका अध्यक्ष गिरीले बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले विभिन्न पर्यटकीय गतिविधि, कार्यक्रम र खेलकुद कार्यक्रमले पोखरालाई चलायमान बनाउन मद्धत पुगेको बताउनुभयो ।उहाँले पछिल्लो समय पोखरामा उल्लेख्य रुपमा पर्यटक आगमन बढेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य,टेवानका अध्यक्ष शोभा पाण्डे न्यौपाने लगायतले यस्ता प्रतियोगिताले पर्यटन विकासमा मद्धत पुगेको बताउनुभएको थियो ।

Comments
Loading...