हिमाली आवाज । गोरखाका पर्यटन व्यवसायीले पोखरामा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखा भ्रमणको निम्ता दिएका छन् ।
‘नेपाल बुझ्न गोरखा जाऔँ’ भन्ने नारासहित होटल संघ गोरखाको टोलीले बिहीबार पोखरामा पृथ्वी होटल व्यवसायी समितिसँगको सहकार्यमा पर्यटकीय सम्भावनाका बारेमा अन्तरक्रिया तथा प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो ।
पर्यटन व्यवसायीहरूले पोखरा र गोरखाबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै पर्यटक आवागमन बढाउने उद्देश्यले प्रवद्र्धनात्मक अभियान निरन्तर सञ्चालनमा समेत जोड दिए ।
गोरखाको प्रमुख आकर्षण मध्ये मनकामना मन्दिर धार्मिक पर्यटकका लागि विशेष गन्तव्य रहेको र केबलकार मार्फत सहज पहुँच हुने यस मन्दिरमा देश तथा विदेशबाट हजारौं भक्तजन पुग्ने गरेका छन् ।
यसैगरी विश्वको आठौँ अग्लो हिमाल मनास्लु सहित मनास्लु संरक्षण क्षेत्र लगायतले गोरखामा साहसिक तथा पदयात्रा पर्यटनलाई थप आकर्षक बनाएको बताइन्छ ।
गोरखा नेपालको एकीकरणको उद्गमस्थल मात्र नभई ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लाका रूपमा परिचित रहेकाले गोरखाको भ्रमणबाट मात्र नेपाल बुझ्न सकिने होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष भाइचन्द्र श्रेष्ठले बताउनुभयो ।
गोरखा दरबार, मनकामना मन्दिर, लिगलिगकोट, गोरखनाथ गुफा, गोरखकाली मन्दिर, मनास्लु क्षेत्र, उपत्यका तथा विभिन्न हिमश्रृङ्खलाले गोरखालाई नेपालको प्रमुख पर्यटन गन्तव्य बनाएको उहाँको भनाई छ ।
“गोरखा घुमेर मात्र गण्डकीको पर्यटन पूर्ण हुन्छ । नेपाल एकीकरण यहीँबाट सुरु भएकाले नेपाल बुझ्नका लागि समेत गोरखा पुग्नै पर्छ । यहाँ मात्र पर्यटकले इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम अनुभव गर्न सक्छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एक अर्का शहरमा रहेका व्यवसायका बीचमा निरन्तर रुपमा अन्तरक्रिया अनुभव आदानप्रदान आवश्यक छ ।” श्रेष्ठले भन्नुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा चितवन लुम्बिनी जोडेर ‘सिल्भर ट्रायङ्गल’को अवधारणाको विकास भएको बताउँदै यसमा बन्दीपुर र गोरखालाई समावेश गर्ने बोर्डको योजना रहेको बताउनुभयो ।
गोरखाको गोखनाथ बावा र भारतको गोरखपुर विच भाइचाराको सम्बन्ध विस्तार गर्ने सोचमा अफूहरू रहेको लामिछानेले बताउनुभयो । “पोखराबाट गोरखासम्मको छोटो दूरी, सहज यातायात पहुँच तथा ऐतिहासिक सम्पदाको संरक्षणले पर्यटन विकासको ठूलो सम्भावना छ । ” लामिछानेले भन्नुभयो ।
ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पोखरादेखी गोरखासम्म पर्यटकीय स्तरको सुविधा सम्पन्न बस समेत दैनिकरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
होटल व्यवसायी महासंघ केन्द्रीय सदस्य बालकृष्ण न्युरेले नेपालको इतिहास बुझ्न गोरखा जानुपर्र्छ भनेर सबैलाई बुझाउनु आवश्यक छ भन्नुभयो ।
पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष अम्बिका घिमिरे ‘अमृत’ ले गोरखामा आएका पर्यटक पोखरा र पोखरा आएका पर्यटक गोरखा जाने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
पृथ्वी दर्शन गोर्खाका कार्यवाहक अध्यक्ष कृष्ण लामिछाने, पृथ्वी होटल व्यवसायी समिति पोखराका अध्यक्ष मोति श्रेष्ठ लगायतले गण्डकी प्रदेशका पर्यटकीय स्थलहरूको एउटा छुट्टै प्याकेज बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
