पोखरामा असारे रोपाइँ महोत्सव, विदेशी पर्यटक हिलोमा रमाए

हिमाली आवाज । पोखरा महानगरपालिका–३० शिशुवा देउराली स्थित खोलाकोछेउमा आइतबार विहानदेखीनै छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई खेतमा भ्याइनभ्याइ थियो ।

गोरुले खेत हिलाउने, विउ काढ्ने र धान रोप्न कृषक विहानैदेखी व्यस्त थिए । तर आज स्थानीय कृषकसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि हिलोमा उत्रिए । पर्यटक अनुहार र शरिरभरी हिलो खेलेर रमाएका थिए । खेतमै धान रोप्दै, असारे भाका गाउँदै र हिलो खेल्दै रमाएकाउनीहरूको सहभागिताले असारे रोपाइँ महोत्सवलाई कृषि र पर्यटनको संगमका रूपमा फेरि एकपटक जीवन्त बनायो ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । २१ औँ संस्करणको महोत्सवमा छिमेकी मुलुक भारत सहित अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीन लगायतका विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी आगन्तुक सहभागी थिए ।
सहभागी पर्यटकले स्थानीय कृषकसँगै धान रोपे, हिलो खेले, हिलोमै फुटबल खेल्ने र असारे गीतमा नाच्दै नेपाली ग्रामीण संस्कृति नजिकबाट अनुभव गरे ।
परिषद्का अनुसार ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरालाई कृषि, पर्यटन र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले असारे रोपाइँ महोत्सव आयोजना गरिएको हो ।

हरेक वर्ष राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते रोपाई महोत्सव गर्ने गरिएपनि यस वर्ष पूर्णिमा परेको र कृषकले हल गोरु नचलाउने परम्परा रहेकाले एक दिन अघि महोत्स गरिएको आयोजक पोखरा पर्यटन पषिद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।
उहाँका अनुसार पोखराको प्राकृतिक सौन्दर्यसँगै कृषि तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो ।
“ यस्ता कार्यक्रमले विदेशी पर्यटकलाई नेपाली जीवनशैली, कृषि परम्परा र मौलिक संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउनुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने गरेको छ ।स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे रोपाइँ संस्कृतिको प्रत्यक्ष अनुभव गराउन महोत्सव गरिएको हो । रोपाइँलाई उत्सवका रूपमा मनाउने परम्पराले कृषि र पर्यटनबीचको सम्बन्धलाई अझ बलियो बनाउेछ । ” पहारीले भन्नुभयो ।
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपालको प्रमुख खाद्य बाली धानको व्यावसायिक उत्पादनका लागि महानगरले कृषकलाई अनुदान लगायतका सहयोग गर्दै आएको बताउनुभयो । पोखराको पहिचान बनेको ‘पोखरेली जेठोबुढो’ धानको ब्राण्डिङ गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।
“परम्परागत खेती प्रणालीले गर्दा उत्पादन लगायत बढेको छ । हामीले आधुनिकीकरणमा जोड दिनुपर्छ । केही मौलिक र परम्परागत संस्कृतिलाई जोगाउँदै चक्लाबन्दी र आधुनिक कृषि खेतीमा कृषकलाई उत्प्रेरित गर्न लागत साझेदारीमा अनुदान, कृषि उपकरण, मल, बिउमा सहयोग गरेका छौँ ।” प्रमुख आचार्यले भन्नुभयो ।
महोत्सवका संयोजक समेत रहनुभएका पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले महोत्सवले विदेशी पर्यटकलाई धान रोपाइँ, हिलो खेल तथा ग्रामीण जीवनशैलीको अनुभव गराएको बताउनुभयो ।
“कृषि र पर्यटनलाई एकै सूत्रमा जोड्दै स्थानीय उत्पादन, संस्कृति र जीवनशैलीको प्रवद्र्धनमा महोत्सवले योगदान पुग्नुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायलाई चलायमान बनाएको छ ।” सापकोटाले भन्नुभयो ।
पोखरामा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको कृषि संस्कृति तथा पर्यटन प्रवद्र्धनलाई जोड्ने विशिष्ट कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । रोपाई महोत्सवमा आन्तरिक सहित विदेशी पर्यटक समेत सहभागी हुँदा अझ महोत्सवको छुट्टै रौनक हुने गरेको छ ।
यसैगरी पोखरा महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै दुई जना कृषकलाई सोही समारोहमा ‘महानगर उत्कृष्ट कृषक सम्मान’ बाट सम्मान गरेको छ ।
पोखरा–२१ कृस्तीस्थित कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की र पोखरा–२७ स्थित हेब्रोन लाइभ स्टक फार्मकी सञ्चालक कमला पाल्पाली खड्कालाई नगर प्रमुख धनराज आचार्य तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जनही नगद रु २० हजार र सम्मानपत्र प्रदान गर्नुभयो ।

Comments
Loading...