हिमाली आवाज । पोखरा महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै दुई जना कृषकलाई आइतबार असारे रोपाई महोत्सव समारोहमा ‘महानगर उत्कृष्ट कृषक सम्मान’ प्रदान गरेको छ ।
पोखरा–२१ कृस्तीस्थित कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की र पोखरा–२७ स्थित हेब्रोन लाइभ स्टक फार्मकी सञ्चालक कमला पाल्पाली खड्कालाई नगर प्रमुख धनराज आचार्य र महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जनही नगद रु २० हजार र सम्मानपत्रबाट सम्मान गर्नुभयो ।
सम्मानित कृषक कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा, विभिन्न तरकारी तथा पशुपालन गर्दै आउनुभएको छ । उहाँले २४ रोपनी क्षेत्रफलमा बेमौसमी तरबुजा उत्पादन गरी व्यावसायिक कृषिमा नयाँ सम्भावना देखाउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएपछि कृषि व्यवसाय सुरु गर्नुभएका कार्की अहिले कास्कीका उदाहरणीय व्यावसायिक कृषकका रूपमा परिचित हुनुहुन्छ ।
यसैगरी सम्मानित कृषक खड्काले सञ्चालन गरेको हेब्रोन लाइभ स्टक फार्म आधुनिक तथा वैज्ञानिक प्रविधिमा आधारित नमुना दुग्ध उत्पादन केन्द्रका रूपमा विकास भएको छ ।
परम्परागत पशुपालनलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सञ्चालित फार्मले जैविक सुरक्षा र दिगो कृषि प्रणाली अपनाउँदै स्थानीय स्तरमा दुग्ध उत्पादन, आपूर्ति तथा रोजगारी सिर्जनामा योगदान पु¥याउँदै आएको छ ।
करिव ३२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्ममा उन्नत घाँसखेती, आधुनिक गोठ, दूध दुहुने विशेष कक्ष, दाना भण्डारण गृह, मल तथा जैविक फोहोर व्यवस्थापन संरचना र प्रशासनिक भवन निर्माण गरिएको छ ।
सम्मान कार्यक्रममा नगर प्रमुख आचार्यले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत कृषकको आय वृद्धि तथा आत्मनिर्भर कृषि प्रणाली निर्माण महानगरको प्राथमिकतामा रहेको बताउनुभयो ।
“कृषकको सम्मानले कृषि पेशाप्रति थप उत्साह र आकर्षण बढ्ने छ ।” आचार्यले भन्नुभयो । महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले उत्कृष्ट कृषकलाई सम्मान गर्नुको उद्देश्य अन्य कृषकलाई पनि व्यावसायिक कृषि अपनाउन प्रेरित गर्नु रहेको बताउनुभयो ।
महानगरले साझेदारीमा अनुदान, कृषि उपकरण तथा विभिन्न प्राविधिक सहयोगमार्फत कृषकलाई निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ छ ।
