हिमाल आवाज । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको केन्द्रमा रहेको तथा सामुदायिक विद्यालयतर्फ पालिकामै सर्वाधिक विद्यार्थी अध्ययनरत पञ्चकन्या माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्षमा पत्रकार अर्जुन काफ्ले चयन हुनुभएको छ।
लामो समयदेखि पत्रकारितामा सक्रिय काफ्ले हाल प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका अध्यक्ष तथा गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ। पत्रकारिता क्षेत्रबाट समाज, शिक्षा र विकासका विषयमा निरन्तर योगदान दिँदै आउनुभएका उहाँको नेतृत्वमा विद्यालयले नयाँ गति लिने अपेक्षा गरिएको छ ।
पञ्चकन्या माध्यमिक विद्यालय अर्जुनचौपारी गाउँपालिकाको शैक्षिक केन्द्रका रूपमा परिचित छ। पालिकाभित्रकै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत यस विद्यालयमा गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार र अतिरिक्त क्रियाकलापका दृष्टिले उल्लेखनीय सम्भावना रहे पनि विगतमा विभिन्न आन्तरिक विवाद र व्यवस्थापकीय चुनौतीका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्थानीयको बुझाइ छ ।
नवनिर्वाचित अध्यक्ष काफ्लेको नेतृत्वमा विद्यालयमा सुशासन, पारदर्शिता, शैक्षिक गुणस्तर अभिवृद्धि तथा सबै पक्षबीच सहकार्यको वातावरण सिर्जना हुने विश्वास स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाले व्यक्त गरेका छन्।
स्थानीयवासीका अनुसार पञ्चकन्या माध्यमिक विद्यालयमा आवश्यक शैक्षिक पूर्वाधार, दक्ष जनशक्ति र विद्यार्थी संख्या पर्याप्त भएकाले यसलाई नमुना विद्यालयका रूपमा विकास गर्ने पर्याप्त आधार रहेको छ। त्यसका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता उनीहरूले औँल्याएका छन्।
स्थानीयको अपेक्षा छ, अर्जुन काफ्लेको कार्यकालमा विद्यालयले विगतका आन्तरिक समस्या अन्त्य गर्दै शैक्षिक सुधार, अनुशासित व्यवस्थापन र उत्कृष्ट नतिजामार्फत नमुना विद्यालयको पहिचान स्थापित गर्नेछ। विद्यालयले जिल्लामै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा ख्याति कमाउने विश्वाससमेत व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष काफ्ले विद्यालयको समग्र विकासलाई प्राथमिकतामा राख्दै शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सरकार तथा सबै सरोकारवालासँग समन्वय गरेर गुणस्तरीय शिक्षाका लागि साझा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
