हिमाली आवाज । नेपाल पर्यटन बोर्डका नवनियुक्त सदस्य सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ ।
पोखरा पर्यटन परिषद्ले आज आयोजना गरेको स्वागत तथा बधाई कार्याक्रममा उहाँले पर्यटन क्षेत्रका साझा समस्या समाधान र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रवद्र्धन गर्नु पर्ने बताउनुभयो । पोखरेलले सबै पर्यटन सम्बद्ध संघ संस्था बीच एकीकृत प्रयास आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो ।
पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाले देखाएको अपनत्वले थप जिम्मेवार बनाएको बताउँदै उहाँले पर्यटन क्षेत्रका साझा समस्या र आवश्यकतालाई नेपाल पर्यटन बोर्डमा प्राथमिकताका साथ उठाउने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डको मूल भूमिका अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्नु रहेको उल्लेख गर्दै पोखरेलले पूर्वाधार निर्माणभन्दा पर्यटक भित्र्याउने अभियान, अन्तर्राष्ट्रिय प्रचार–प्रसार र स्रोत बजारमा नेपालको उपस्थिति विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्राउन अन्तराष्ट्रिय स्तरमा कार्यक्रमहरु गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पोखराबाट दुबई उडान हुन लागेका कारण त्यसको पनि सबै जनाले प्रचार प्रसार गर्नु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, परिषद्का महासचिव जीवन सापकोटा लगायतले पर्यटन क्षेत्रको विकासका लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा पछिल्लो समय नेपाल पर्यटन बोर्डले पर्यटन प्रर्वद्धन भन्दा पनि पुर्वाधार निमार्णमा लागेको भन्दै व्यवसायीले आलोचना गरेका थिए ।
