पोखरामा अब पर्यटकलाई सूचना दिन ‘क्युआर कोड’

हिमाली आवाज । गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा पर्यटकलाई सुरक्षित र पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले ‘क्युआर कोड’सञ्चालनमा ल्याएको छ । यसबाट ‘क्युआर कोड’स्क्यान गरेर स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण, भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र जिसीले ‘क्युआर कोड’को उद्घाटन गर्नुभयो । यसले आपत्कालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै सुरक्षित यात्रा अनुभवमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु सँग अन्तरक्रिया गर्दै पर्यटन सुरक्षा सम्बन्धमा छलफल गरे । छलफल पछि डिआजी जिसीले गण्डकी प्रदेशमा आउन पर्यटकको सुरक्षाका लागि आफुहरु लागि रहेको बताउनुभयो । पर्यटकी क्षेत्रको सुरक्षाका लागि थप प्रहरीहरु समेत पठाएको बताउँदै उहाँले पर्यटकहरुलाई प्रहरीले त्यतिकै खानतलासी नगर्ने बताउदै कहिले काही शंकास्पद अवस्थामा मात्रै पर्यटकलाई चेक जाचँ गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो सर्त भएको बताउनुभयो । उहाँले व्यवसायी र प्रहरीबिचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताउँदै यस्ता संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का पुर्व अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरा सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्नु पर्ने बताउनुभयो ।
त्यसै गरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गहरूमा हुने सम्भावित दुर्घटना र आपत्कालीन अवस्थामा तत्काल उद्धार गर्न विभिन्न स्थानमा सुरक्षाका स्थायी युनिट स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यानाकर्षण गराउनुभयो । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले लेकसाइडको फुड्ट्याकमा विभिन्न कानुन विपरीतका कामहरु हुने गरेको भन्दै त्यस्ता कामलाई रोक्न माग गर्नुभयो ।

कार्यक्रममा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्की, एगा पोखराका अध्यक्ष गोकर्ण लम्साल, टेसा पोखराका अध्यक्ष टिका बहादुर लम्साल, भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्याल, नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष रविप्रसाद आचार्य, फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलाराम गिरी, ओटेफ पोखराका अध्यक्ष ममता न्यौपाने, टेवानका अध्यक्ष शोभा न्यौपाने, विदेशी मुद्रा सटही संस्था पोखराका अध्यक्ष रुपक राज मिश्र, नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्ष संगीता पौडेल, रेवान पोखराका उपाध्यक्ष विकास भट्टराई, रेवान पोखराका महासचिव विरेन्द्र शेरचन अन्नपुर्ण केवलकार पोखराका दिनेश पौडेल लगायत पर्यटन क्षेत्रका सुरक्षा र समस्याका बारेमा भनाई राख्नुभयो ।
उनीहरुले लेकसाइडमा बेला बेलामा आउने मगन्तेहरु, पार्किङ व्यवस्थापन लगाएतका बारेमा जानकारी दिएका थिए ।

Comments
Loading...