होटल संघ पोखराद्धारा पर्यटन बोर्ड सदस्य पोखरेलको स्वागत

हिमाली आवाज । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताउनुभएको छ ।

होटल संघ पोखरा नेपालले स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले पूर्वाधार विकासको पक्षलाई भन्दा प्रबद्र्धनमा नै बोर्डको ध्यान रहेको प्रष्ट पार्नुभयो । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको जानकारी पोखरेलले दिनुभयो ।

बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै उहाँले यसबाट व्यवसायीले फाइदा लिन सक्नुपर्ने भनाई राख्नुभयो । “पोखराका तालहरुको संरक्षणका लागि बजेट छुट्टिएको, यहाँ भएका विभिन्न ताल मध्ये एउटा ताल जलगतिविधिका लागि छुट्याउने तयारी भएको, आरोग्य पर्यटनलाई अगाडि बढाउन बोर्ड गंभीर भएर लागिरहेको र उचाईमा यात्रा गर्ने पर्यटकको सुरक्षाका लागि टानसँग समेत बोर्डले समन्वय गरिरहेको छ । ” पोखरेलले भन्नुभयो ।

आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले बोर्डसँग समन्वय गरेर आफूहरु अगाडि बढ्न चाहेको बताउँदै संघले विगतदेखि संचालन गर्दै आएको चलिय पोखरा जस्तो कार्यक्रमको प्रभावका कारण पोखरा आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढ्न पुगेको सुनाउनुभयो । यसप्रकारका प्रबद्र्धन कार्यक्रम निजी क्षेत्रले संचालन गर्न सहज हुने खालका नीतिनियम बोर्डले बनाउनुपर्ने सुझाव उहाँको छ ।

होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पीडितहरुको पनि कुरा सुन्दै फेवा तालको संरक्षमा सरकार गंभीर बन्नुपर्ने भनाई राख्नुभयो । फेवा संरक्षणका लागि सरकारले बजेट छुट्याएको आफूले थाहा नपाएको बताउँदै पराजुलीले यस तालका लागि कति बजेट छुट्टियो त भनी प्रश्न गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटकको संख्या कसरी र कुन ठाउँबाट राख्न सकिन्छ भनी छलफल अघि बढिसकेको जानकारी दिनुभयो । नेपाल एकेडेमी अफ टुरिजम, होटल एण्ड माउन्टेनियरिङ (नाथम) पोखरामा आउने तयारी अगाडि बढेको जानकारी दिंदै लामिछानेले जग्गाको टुंगो लागे सो संस्थाले पोखरामा समेत आफ्नो उपस्थिति जनाउने बताउनुभयो ।

कार्यक्रमा संघका पूर्व अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रमेश, सचिव पार्वता पाण्डे र सदस्य शिवराज पहारीले पनि भनाई राख्नुभयो ।

Comments
Loading...