हिमाली आवाज । कास्कीको माछापुच्छ««े गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखी गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको छ ।
गाउँपालिकाले एक सूचना जारी गरी कोरोनाको सम्भावित जोखिम न्यूनीकरण र गर्न गाउँपालिकाबाट प्रवाह हुने सेवा माघ १० गतेदेखी १४ गतेसम्म नियमित रुपमा प्रवाह नहुने जनाएको छ ।

स्वास्थ्यसँग सम्बन्धित र आन्तरिक काम बाहेक अन्य जनसम्पर्कका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“अत्यावश्यक काम सीमित कर्मचारीबाट पनि सुचारु गर्नेछौँ । त्यस बाहेक गाउँपालिकाबाट प्रवाह गरिने अन्य सेवा बन्द गरिएको छ ।”
गाउँपालिकाले समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको र जोखिम उच्च रहेकाले गाउँपालिकावासीहरुलाई सरकारबाट जारी गरिएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न र घर बाहिर निस्कदा मास्कको प्रयोग गर्न अपिल गरेको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडी सहित तीन जना जनप्रतिनिधि, स्वास्थ्यकर्मी नौ जना र तीन जना कर्मचारी सङ्क्रमित भएको जानकारी दिनुभयो । गाउँपालिकामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६२ जना रहेको आचार्यले हिमाली आवाजलाई जानकारी दिनुभयो।
