बनेपा ।तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा काभ्रेका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
काभ्रेपलाञ्चोकको रोशी र तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकाले ल्होछारको दिन १९ गते परेकाले सो दिनको एक दिनअघि र एक दिनपछि गरी तीन दिनसम्म सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । “विगत वर्ष झैँ यस वर्ष पनि ल्होछारका अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गत सबै कार्यालयहरू, सम्पूर्ण शैक्षिक संस्थाहरू, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाहरू सो अवधिभर बन्द रहनेछ”, अध्यक्ष लामाले भन्नुभयो, “तामाङ समुदायको बाहुल्य रहेको पालिकाभित्र संविधानले दिएको अधिकारको प्रयोग गरी तीन दिनसम्म सार्वजनिक बिदा दिँदै आएका छौँ ।”
त्यस्तै तेमाल गाउँपालिकाले पनि ल्होछारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सलाम सिं लामाले बताउनुभयो । गाउँपालिकाको माघ १३ गतेको निर्णयअनुसार ल्होछारको अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गतका सबै कार्यालयहरू, सम्पूर्ण शैक्षिक संस्थाहरू, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाहरू सो अवधिभर बन्द रहने उहाँले बताउनुभयो ।
यस वर्षको तामाङ समुदायले मनाउने सांस्कृतिक तथा धार्मिक पर्व २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) आगामी माघ १९ गते परेको छ ।

