काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को सचिवालयले वर्तमान गठबन्धन सरकारको रक्षाका लागि एमसीसी मुख्यालयलाई पत्र लेखिएको बताएको छ ।
आइतवार साँझ प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गरी प्रतिगमनलाई परास्त गरी भर्खरै सरकार गठन भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नै पर्ने दवाव भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि पत्राचार गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘२९ सेप्टेम्बर २०२१ मा एमसीसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो। र, पत्रमा एमसीसी का लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो।’
विज्ञप्तिमा एमसीसी परियोजना परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा माओवादी केन्द्र अहिले पनि दृढ रहेको र यसबारे गरिएका नियोजित प्रचारवाजीको भ्रममा नपर्न समेत आग्रह गरिएको छ ।

