हिमाली आवाज । कोरोना सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बन्द कास्कीका शैक्षिक संस्थामा आगामी फागुन १ गतेदेखी सञ्चालनमा आउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी निषेधाज्ञाको आदेशलाई खुकुलो बनाउँदै स्वास्थ्य मापदण्डको पालना गर्ने गरी भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न अनुमति दिएपछि विद्यालय खुल्ने भएका हुन् ।
गत पुस अन्तिम सातादेखी कोरोना जोखिम बढेपछि बन्द विद्यालय, विश्वविद्यालय, कलेज र ट्यूसन सेन्टरहरुमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न अनुमति दिएको हो । निषेधाज्ञा आदेशपछि विद्यालयहरुले अहिले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छन् ।
प्रशासनले मास्कको उचित प्रयोग, हात धुने व्यवस्था, सेनिटाइजरको प्रयोग र विद्यार्थीका बीचमा भौतिक दूरी पालना गराउने गरी शैक्षिक संस्था सञ्चालनको अनुमित दिइएको हो ।
यसैगरी विद्यार्थी ओसारपसार गर्दा माथिल्लो र तल्लो कक्षाका विद्यार्थीहरुलाई भीडभाड नहुने गरी फरक÷फरक समयमा आवागमनको व्यवस्था मिलाउन, अतिरिक्त कक्षा सञ्चालन नगर्न र कक्षाकोठा,शौचालय लगायत भौतिक संरचनाको सरसफाई गर्न समेत प्रशासनले आग्रह गरेको छ ।

