हिमाली आवाज । कास्कीमा जनयुद्धको २७ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगरपालिका समिति लगायत विभिन्न जनवर्गिय संग संगठनले जनयुद्ध दिवस शुभकामना आदान प्रदान तथा दीप प्रज्वलन गरी हर्सोल्लासका साथ मनाएका छन् ।
माओवादी केन्द्रका नेता कार्यकर्ताले जनयुद्धका कारणबाट मात्र अहिलेको परिर्वतन सम्भव भएको र ऐतिहासिक दिनको स्मरण गर्दै एकापसमा अविर लगाएर खुशीयाली र शुभकामना साटासाट गरे ।
महानगर समितिले विहान पार्टी कार्यालयमा शुभकामना आदान प्रदान तथा चियापान गरेको थियो । यसैगरी वाइसियल, अखिल क्रान्तिरकारी लगायतले साँझ पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन समेत गरेका थिए । चिप्लेढुँगा, शहीदपार्क, पृथ्वीनारायण क्याम्पस, इन्जिनियरिड क्याम्पस लगायतका स्थानमा दीप प्रज्वलन गरी खुशीयाली मनाएका छन् ।
यसैबीच २७ औं जनयुद्ध दिवसको अवसरमा नेकपा ( माओवादी केन्द्र ) ले माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहाचोकमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकका माओवादी केन्द्रका पार्टी अध्यक्ष नारायण अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङ ’करण’ले हजारौं सहीदहरुको त्याग र बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले मात्र देशमा महिला, दलित र सीमान्तकृतहरुको हक सुनिश्चित भएको बताउनुभयो ।
उहाँले झैधेरै काम गर्न बाँकी रहेकोले अबको चुनावमा माओवादी पार्टीलाई २०६४ कै रफ्तारमा फर्काउनुको विकल्प नभएकाले पार्टीका नेता कार्यकर्ताले कम्मर कसेर लाग्न आग्रह गर्नुभयो । नेता गुरुङले अब पार्टीको नीति अनुरुप स्थानीय तहनै कार्यकारिणी हुने भएकोले माछापुच्छ्रे गाउँपालिकाको नेतृत्व चयनमा भएको ढिलाईलाई मध्यनजर गर्दै नेतृत्वपंक्तिमा रहेकाहरु तत्काल बसेर छलफल गरेर सहमतिमा नेतृत्वको टुङ्गो लगाई चुनावी अभियानमा सकृय हुन निर्देशन दिनुभयो ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अन्य वडाहरुबाट पनि सहभागीहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा गाउँ कमिटी सदस्य सुनिल दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने माओवादी केन्द्रका नेताहरुप्रविणा अधिकारी,भीम क्षितिज,वैकुण्ठ भण्डारीले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम गाउँ कमिटीका पूर्व सचिव शिवप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो ।
देसमा लोकतान्त्रिक गणतन्त्रको लागि नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) ले विसं २०५२ साल फागुन १ गते जनयुद्ध शुरु गरेको थियो । सोही युद्धका कारणबाट मात्र अहिले देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायतका परिर्वतन सम्भव भएको हो ।

