हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहाल स्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा ६३ लाख ६७ हजार ८६१ रुपैयाँ लागतमा विद्यालय भवन तथा शौचालय निर्माण गरिएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) को आर्थिक तथा प्राविधिक सहयोगमा दुई कोठे दुईवटा ट्रष्ट भवन एवम् छात्र, छात्रा अपांगमैत्री शौचालय निर्माण गरिएको हो ।
विद्यालय भवनको एक कार्यक्रमका बीच आज गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले संस्कृत शिक्षा केवल ज्ञान हासिल गर्ने मात्र नभै संस्कार पनि भएको बताउँदै समाजलाई सुसंस्कृत बनाउन यसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । शिक्षा गरिएको लगानीले प्रतिफल दिनुपर्नेमा जोड दिदै उहाँले समय सापेक्ष प्राविधिक एवम् व्यवसायिक शिक्षालाई जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पोखरा–३२ लामेआहालमा क्षेत्रीय बसपार्क निर्माणका लागि सरकारले बजेटको व्यवस्था गरिसकेको बताउँदै उहाँले जग्गा प्राप्तीतर्फ लागिएको स्पष्ट पार्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले विद्यालय आर्थिक लगायतका विविध समस्याका वावजुद विद्यालय अघि बढेको बताउँदै दरबन्दी व्यवस्थापन अपरिहार्य भएको बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो साथ र सहयोग गरेको बताउँदै शिक्षासँगै असल संस्कार आवश्यक हुनेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक केशवराज पौडेलले पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) को ४८ लाख ८२ हजार ८५८ रुपैयाँको लागतमा दुई कोठे दुईवटा ट्रष्ट भवन र १४ लाख ८५ हजार ३ रुपैयाँको लागतमा छात्रछात्रा अपांगमैत्री शौचालय निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
राधाकृष्ण शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर केसीले विद्यालयलाई दीगो रुपमा सञ्चालन गर्न राज्यले स्थायी दरबन्दीको व्यवस्थापन गरिदिनुपर्ने बताउनुभयो ।गोगन माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेलले संस्कृत शिक्षाको विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा पद्मजगत स्मृति प्रतिष्ठानका अध्यक्ष झलकप्रसाद खनालले विद्यालयको दीगो सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यका साथ १० लाख रुपैयाँको अक्षयकोष राख्ने घोषणा गर्नुभयो । उक्त अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष विमलाकुमारी थापा बस्नेत, विद्यालयका विद्यार्थी रुपेश हुमागाइँ, नेपाली काँग्रेस पोखरा–३२ का सभापति कुलप्रसाद अधिकारी, विद्यालयका शिक्षक ओम थापा लगायतले बोल्नुभएको थियो ।
उक्त अवसरमा पद्मजगत स्मृति प्रतिष्ठानका अध्यक्ष झलकप्रसाद खनाल, निर्माण व्यवसायी छविलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
