महिला क्रिकेटको च्याम्पियन टोलीलाई गण्डकी सरकारको सम्मान, जनही ५० हजार पुरस्कार घोषणा

हिमाली आवाज । कैलालीको धनगढीमा सम्पन्न ‘मुख्यमन्त्री कप अण्डर –१९’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले आइतबार पोखरामा सम्मान गरेको छ ।

नेपाल क्रिकेट सङ्घले आयोजना गरेको सो प्रतियोगितामा गण्डकी प्रदेशको टोलीले उपाधि जितेर प्रदेशको नाम र गौरव राख्न सफल भएको भन्दै सरकारले च्याम्पियन टोलीका १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ सदस्सीय टोलीलाई प्रशंसापत्रबाट सम्मान गरेको हो ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल र आन्तरिक मामिला मन्त्री डोबोटे विश्वकर्माले संयुक्त रुपमा खेलाडीहरुलाई सम्मान गर्नुभयो ।

सो अवसरमा सरकारले खेलाडीहरुलाई नगद पुरस्कारको समेत घोषणा गरेको छ । अर्थमन्त्री बरालले विजेता टोलीका सदस्यहरुलाई सरकारको तर्फबाट जनही रु ५० हजारका दरले पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।

खेलाडीको प्रोत्साहन र उनीहरुलाई हौसला प्रदान गर्न सो पुरस्कार प्रदान गनिरने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गरी विजेता हुनु भएको तपाई सम्पूर्ण खेलाडी, अफिसियल, खेल सङ्घ लगायतलाई सरकारको तर्फबाट विषेश धन्यवाद दिन चहान्छु । प्राप्त सफलताले गण्डकी प्रदेशको गौरव र शान बढेको छ ।”

सो अवसरमा मन्त्री बरालले खेलकुदले व्यक्तिलाई स्वस्थ्य राख्ने मात्र नभई जिल्ला, प्रदेश र देशको पहिचान बनाउने हुदाँ आगामी दिनमा खेल र खेलाडीको प्रवद्र्धन गर्न प्रदेश सरकारको ध्यान केन्द्रित हुने बताउनुभयो ।आन्तरिक मामिला मन्त्री विश्वकर्माले महिला खेलाडीको सफलताले गण्डकी प्रदेशलाई ठुलो खूशी प्रदान गरेको बताउनुभयो ।

उहाँले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सफलता प्राप्त गर्ने र सम्भावना भएका खेलाडीहरु पलायन हुने अबस्थालाई अन्त्य गरिने बताउँदै उहाँले भन्नुभयो,“ खेल क्षेत्रमा लाग्नेहरुको जीवनको भविष्य ग्यारेन्टी सरकारले गर्छ ।”

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदबाट लाभ लिन दीर्घकालिन योजना अनुसार लगानी आवश्यक भएको बताउनु भयो ।गण्डकी प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले महिला क्रिकेटले दिलाएको जितले प्रदेशका २५ लाख जनतामा खुशी छाएको बताउनु भयो ।

कैलालीको धनगढीमा हालै सम्पन्न भएको सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई तीन विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको हो ।

गण्डकी प्रदेश यु—१९ महिला क्रिकेट टोलीमा मनिशा उपाध्याय(कप्तान), अन्जली विश्वकर्मा(उपकप्तान), सीमाना केसी, ज्योत्सनीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जि.टी., सेरिना थापा मगर, सिर्जना पौडेल, जेनिसा खत्री, आङ पेम ल्याम्बु शेर्पा र प्रिती पराजुली रहनु भएको छ ।

उक्त टोलीको टिम प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थापकमा एलिसा लामिछाने रहनु भएको थियो ।

Comments
Loading...