चार महिनापछि माओवादी केन्द्र माछापुच्छ्रेले पायो नेतृत्व,अध्यक्षमा भण्डारी विजयी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) माछापुच्छ«े गाउँपालिका कमिटीले चार महिनापछि नेतृत्व पाएको छ ।

गत मंसिर ११ गते पालिका अधिवेशन भएर गाउँ कमिटी चयन गरिएपनि नेतृत्व टुँगिन सकेको थिएन । माओवादीले बिहीबार मतदानबाट नेतृत्व चयन गरेको हो ।

मतदानबाट अध्यक्षमा बैकुण्ठ भण्डारी निर्वाचित हुनुभयो । भण्डारीले १८ मत प्राप्त गर्दा उहाँका प्रत्याशी इन्जिीनियर सुनिल दाहालले १७ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभयो । उपाध्यक्षमा गोपाल पोखरेल,चेतबहादुर गुरुङ र रामप्रसाद बास्तोला सर्वसम्मत निर्वाचित हुनुभयो ।सचिवमा शिवप्रसाद भण्डारी , सहसचिव सीता पोखरेल र कोषाध्यक्षमा रेमबहादुर पुन मगर निर्वाचित हुनुभयो ।

निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिँदै पार्टीका कास्की जिल्ला संयोजक बखानसिँह गुरुङले स्थानीय तहको निर्वाचनमा माछापुच्छ्रे गाउँपालिकामा राम्रो नतिजा ल्याउने गरी पार्टी काममा खटिन निर्देशन दिनुभयो ।

उहाँले माछापुच्छ्रेमा विगतका तुलनामा पार्टीका अवस्था मजवुत बनेकाले आफ्नै हैसियतमा चुनाव जित्ने गरी गाउँ कमिटीको नेतृत्व पूर्णकालीन भएर खटिन आग्रह गर्नुभयो ।

नवनिर्वाचत अध्यक्ष भण्डारीले भोलीदेखीनै सबै वडामा पार्टी संगठन व्यवस्थित गर्दै टोल कमिटी र सेल कमिटी निर्माण युद्धस्तरमा सञ्चालन गरिने बताउनुभयो । माओवादी विधानमा अधिवेशनले कमिटी निर्वाचित गर्ने र सो कमिटीको बैठकले नेतृत्व चयन गर्ने व्यवस्था छ ।

Comments
Loading...