हिमाली आवाज । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यालयमा सरकारमा सहभागी भएका राजनीतिक पाटीहरुका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले गठबन्धनलाई वडा तहसम्म प्रभावकारी रुपमा लैजानु पर्ने निर्णय गरेका छन् ।
पाटी सभापति शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न सो बैेठकले पाँचदलीय सहमतिअनुरुप दलीय आधारमा योग्य उमेदवारको चयन गर्ने निर्णय गरेको छ । सो निर्णयलाई वडासम्मनै कार्यान्वयन गर्ने पक्षमा बैठकमा सहभागी नेताहरु एक भएको सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो ।

गठबन्धनका उमेदवारले पाटीका तर्फबाट उमेदवारी दिँदा पाँचै दलबाट सहजरुपमा स्वीकार हुने किसिमका उमेदवार छनोट गर्ने कुरामा बैठक केन्द्रित भएको थियो । त्यसै गरी निर्वाचन आयोगले उमेदवारी नभएको जिल्लामा दलको नामबाट अनावश्यक चुनाव चिन्ह छापेर मतदातालाई भ्रमित पार्न नहुने सुझाव समेत राखिएको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु बिच तालमेल गर्ने सहमती भएसंगै गण्डकी प्रदेशमा पनि बैठक बसेको बसेर तयारी गरिएको हो । प्रदेशमा यस अघि पनि गठबनधनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोती प्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायतका गण्डकी प्रदेश स्तरका शीर्ष नेताहरुको उपस्थिति रहेको नेपाली काङ्ग्रेसका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा सहभागीले गठबन्धनका उमेदवारको व्यवस्थापन र निर्वाचन परिचालन साझा रुपले नै अगाडि बढ्नुपर्नेमा जोड दिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभागप्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।
