वृद्ध–वृद्धाको आर्शीवाद,‘जनताको मनमा बस्ने गरी काम गर्नुहोला’

हिमाली आवाज । नेकपा एमाले पोखरा १५ ले घर–घरमा प्रतिवद्धता पत्र बाँड्दै ५ वर्षभित्र सबै वाचा पूरा गर्ने जनाएको छ । वडावासीसँग भेटघाट तथा घरदैलो कार्यक्रमको सिलसिलामा पुगेको पाँचै जना उम्मेदवारसहितको टोलीले जनतासँग भोट माग्दै प्रतिवद्धता पत्रमा उल्लेख गरिएका बुँदा आवश्यकता र औचित्यका आधारमा ५ वर्षभित्र पूरा गर्ने वाचा गरेको हो ।

टोलीले आज वडाको कान्तिपुर टोल, फलेपाटन, ज्ञानमार्ग, जाल्पा मार्ग र कोलपाटन क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जनता भेटघाटका लागि घर–घरमा पुगेका उमेद्वारसहितको टोलीलाई टोलवासीले न्यानो आतिथ्यताका साथ भारी मतले जिताउने वचन दिएका छन् ।

घरदैलोकै क्रममा अध्यक्ष पदका उमेद्वार तोरण बानियाँलाई वृद्धवृद्धाले शीरमा हात राख्दै ‘पहिलेदेखि नै सहयोग गर्दै आइरहनुभएकोमा अब फेरी धेरै मतले विजयी भएर जनताको मनमा बस्ने गरी काम गर्नु’ भन्दै आर्शीवाद दिएका थिए । आर्शीवाद लिँदै बानियाँसहित उम्मेदवारको टोलीले निर्वाचित भएपछि जनताले छिट्टै महसुस गर्ने गरी काम गर्न उत्सुक भएको प्रतिक्रिया दिनुभयो ।

Comments
Loading...