हिमाली आवाज । पाँच दलिय गठबन्धनले आईतबार पोखराको अमरसिंहचौरमा गर्ने बिशाल आमसभाको तयारी पूरा भएको छ । गठबन्धन प्रचारप्रसार समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी आमसभाको तयारी पूरा भएको जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै प्रचारप्रसार समितिका संयोजक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आमसभाका लागि पोखरा महानगरपालिकासँगै चारवटै गाँउपालिकाहरुमा पाचै दलका मतदाताहरु सहभागी गराउने गरी आह्वान गरिएको बताउनुभयो । बरालले यस आमसभालाई व्यवस्थित, मर्यादित र ऐतिहासिक बनाउने तयारी भएको पनि जानकारी दिनुभयो ।
आमसभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ लगायतका नेता संगै पोखरा महानगरका मेयरका उमेदवार धनराज आचार्य र उपमेयरका उमेदवार कोपिला रानाभाट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पाँच दलिय गठबन्धनका नेताहरुले पोखरा महानगरपालिका सहित कास्कीका बहुस्थानमा गठबन्धनका उमेद्वारहरुले विजय हासिल गर्ने दावी गरेका छन् । कास्कीमा पोखरा महानगरपालिकासँगै पाँचवटै स्थानिय तहका अधिकांस स्थानमा गठबन्धनका साझा उमेदवार रहेकाले पनि बहुमत स्थानमा आफुहरुको जित सुनिश्चित रहेको नेताहरुको दावी गरेका हुन् । केन्द्रकै परिपत्र अनुसार कास्कीमा गठबन्धन भित्रका दलहरु बिचमा साझेदारी गरिएको र केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको समेत नेपाली कांग्रेस कास्कीका सभापति बरालले बताउनुभयो ।
बरालका अनुसार पोखरा महानगरपालिकाका १६ वटा वडामा गठबन्धन गरिएको छ भने, बाँकी वडामा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको छ । गठबन्धनलाई आगामी निर्वाचनमा समेत कायम राख्ने गरी दलहरुका बिचमा परामर्श भएको बताइन्छ ।
पोखरा महानगरमा गठबन्धनबाट महानगर प्रमुख पदका लागि एकिकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदका लागि नेपाली कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा हुनुहुन्छ ।
