मादी गाउँपालिकालाई सांस्कृतिक गाउँ बनाउँछौं:मादी गठबन्धन

हिमाली आवाज । मादी गठबन्धनका उम्मेद्वारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँ बनाउने बताउनुभएको छ ।
आधुनिक शैलीले मौलिक संस्कृतिक लोप हुँदै गएको भन्दै गठबन्धनका उम्मेद्वारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँपालिका बनाउने पहल गर्ने बताउनुभएको हो ।

मादी ७ महघारी र मादी ६, तप्राङमा भएको चुनावी सभामा बोल्दै मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि मादीको मौलिक संस्कृति जगेर्ना गर्नपट्टी लाग्ने बताउनुभयो ।

‘मादी गाउँपालिका, सांस्कृतिक रुपमा धनी गाउँपालिका हो । अहिले आधुनिकताले यहाँको संस्कृति हराउदै गई रहेको छ, हामीले चुनाव जितेपछि त्यसलाई जोगाउनपट्टी लाग्छौं,’ उहाँले भन्नुभयो ।मादी गाउँपालिकालाई सास्कृतिक जगेर्ना गरेर पर्यटनसँग जोड्ने उहाँले बताउनुभयो । ‘पुरानो संस्कृति जोगाउनुपर्ने त हाम्रो कर्तव्य नै हो । त्यसलाई जोगाउँदै पर्यटनसँग जोडेर, पर्यटकीय नमुना गाउँ बनाउन हामीले पहल गर्ने छौं,’ उहाँले भन्नुभयो ।

गठबन्धनकै उपाध्यक्ष पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले संविधान रक्षा गर्न गठबन्धन एक ढिक्का भएर लागे जस्तै मादी बनाउन पनि लाग्ने बताउनुभयो । सबै दलको सहमतिमा बजेट विनियोजन हुने भए पनि विपक्षी दलले आफैले छुट्याए जसरी प्रचार गरेकामा उहाँको आपत्ति छ । गाउँपालिका विकासका लागि सबैको समन्वय जरुरी रहेको बताउँदै उहाँले गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं कांग्रेस नेता कृष्ण केसीले गठबन्धनका उम्मेद्वारलाई जिताउन मतदातासामु आग्रह गर्नुभयो । चुनावमा गठबन्धनलाई जिताएर मादीलाई जिताउन मतदातामाँझ उहाँको आग्रह छ ।मादी ६ वडा सदस्य पदका उम्मेद्वार खेमबहादुर जिसीले चुनावपछि वडामा खेलकुद, शिक्षा, स्वास्थ्यमा जोड दिने बताउनुभयो ।

वडा र गाउँपालिका विकासका लागि सबै दलको उत्तिकै भुमिका रहने हुँदा निशेधको राजनीति बन्द हुनु पर्नेमा उहाँले जोड दिनुभयो । मादी गाउँपालिका र वडा नम्बर ६ लाई समृद्ध बनाउने भिजन गठबन्धनसँग मात्र रहेको बताउँदै उहाँले गठबन्धनका सबै उम्मेद्वारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

Comments
Loading...