हिमाली आवाज । नेपाली कांग्रेसका युवा नेता एवं पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेलले पोखरा महानगरपालिका–१२ को समग्र विकासको जिम्मा आफूले लिने बताउनुभएको छ ।
स्थानीय तह निर्वाचनको प्रचार अभियानका क्रममा काँग्रेस वडा इकाई समितिले आयोजना गरेको चुनावी सभामा नेता पौडेलले वडाको विकासका लागि काँग्रेसका उम्मेदवार विजयी हुनैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“वडामा काँग्रेसका उम्मेदवार विजयी भएको खण्डमा वडाको विकासका लागि केन्द्रबाटै बजेट पार्नेछु ।”
पौडेलले यसपटकको स्थानीय चुनाव राष्ट्रिय विषयसँग जोडिएको उल्लेख समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय चुनाव स्थानीय विषयसँग जोडिन्छ तर, यो निर्वाचन राष्ट्रिय विषयसँग जोडिएको छ ।”
विसं २०७४ को निर्वाचनमा नेपाली काँग्रेसले सो वडामा जित हासिल गरेको थियो । यसपटक कांग्रेसबाट वडाध्यक्षमा युवा नेता सन्तोष बास्तोला उम्मेदवार हुनुहुन्छ ।वडाध्यक्षका प्रत्याशी बास्तोलाले घरदैलोका क्रममा जनताबाट धेरै माया प्राप्त भएकाले आफू विजयी हुने दावी गर्नुभयो ।

