हिमाली आवाज । पोखरा महानगरको सबैभन्दा पूछारमा रहेको वडा हो, ३२ । साविकको लेखनाथ नगरपालिका गाभिएर पोखरा महानगरपालिका बनेपछि पनि यो वडाले मुहार फेरेन ।
तल्लो गगनगौंडा, कालिकानगर, मालेपाटन, माल्मुल, जनताको चौतारा, ढोंडबेंसी, बडहरे, सातमुहाने, खोलाको छेउ, लामेआहाल, मजुवा, गढी, खुदीखोला सुकुम्बसी लगायत बाक्लो बस्ती यो वडामा छ ।
कतै सिंचाइको लागि पानी नै नहुने र कतै बाढी, पहिरो जाने समस्या वडाले खेपिरहेको छ । कुनै बेला फाँटभरि धान फल्ने गढी अचेल हरेक बर्खामा सुख्खा हुन्छ । बेगनास सिंचाइ योजनाको नहर व्यवस्थित नहुँदा ठूलोपाटन, कालिकानगरका बस्ती जलमग्न हुन्छन् । नहरको पानी खस्ने भीरमा स्थानीयको खेत कटान हुँदै गएको छ । तल्लो गगनगौंडादेखि जनताको चौतारामा रहेको वडा कार्यालय पुग्ने बाटोको हालत बिग्रिएको छ । खुदीखोलामा तटबन्ध नहुँदा सुकुम्बासी बस्ती जोखिममा छ ।
गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले लामेआहालमा प्रादेशिक बसपार्क बनाउने भनेर एक दशकदेखि स्थानीयको जग्गा रोक्का राखे पनि कुनै काम अगाडि बढ्न सकेको छैन । उखुको राम्रो उत्पादन हुने क्षेत्र ढोंडबेंसी, देउरालीफेदीमा कृषकले उचित अनुदान पाएका छैनन् । वडामा रहेका सार्वजनिक जग्गाको संरक्षण हुन सकेको छैन । बितेको पाँच वर्षमा न एउटा पार्क बन्यो न गतिलो खेलमैदान । गन्धर्व, पुन मगर, परियार, गुरुङ, क्षेत्री, ब्राह्मण समुदायको बाक्लो बस्ती रहे पनि ती समुदायको संस्कृति संरक्षणमा वडाले कुनै लगानी गरेन । सुकुम्बासी बस्तीका बासिन्दाले लालपूर्जाको आशामा जीवन काटिरहेका छन् ।
यी तमाम् समस्यासँग स्थानीय भुवानीप्रसाद पौडेल जानकार हुनुहुन्छ । यिनै समस्याको समाधान गर्न यसपल्ट उहाँ माओवादी केन्द्रबाट वडाध्यक्षमा चुनाव लड्नुभएको छ । यसअघि अन्य पार्टीलाई जिताए पनि यसपल्ट भुवानीलाई जिताउने स्थानीयले बताएका छन् । वडा नम्बर ३२ लाई भुवानीकै भरोसा छ ।

गढीका नारायण भट्टराईले सिंचाइ अभावकै कारण धान फलाउन पाउनुभएको छैन । वडालाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । ‘चुनाव जितेर गएपछि हाम्रो वास्तापास्ता भएन,’ उहाँले भन्नुभयो,‘यसपल्ट भुवानीलाई नै भोट दिएर जिताउने हो ।’ खुदीखोलाका जेबी घले सुकुम्बासीलाई लालपूर्जा दिलाउन पनि भुवानीलाई भोट हाल्ने बताउँछन् । ‘अरु पार्टीले हाम्रो लागि केही गर्दैनन् । वडा, प्रदेश र संघमा माओवादी कै उम्मेदवारलाई हाम्रो एकमुष्ठ भोट जान्छ ।’ उहाँले भन्नुभयो ।
तत्कालीन मुखियासँग जग्गा किनेर बसे पनि लालपूर्जा नपाएका मजुवाबासीको साथ समेत यसपल्ट भुवानीलाई छ । मजुवाका रमेश गुरुङ भुवानीलाई जिताउन रातदिन खटिएका छन् । ‘पहिला गर्ने भए अरु पार्टीले पनि समस्या समाधान गर्ने थिए होलान्,’ उहाँले भन्नुभयो, ‘कसैले गरेनन्, अब हाम्रो भरोसा भुवानी नै हो ।’
मालेपाटनका यज्ञप्रसाद अधिकारी कृषि र सिपमूलक तालिमबाट युवालाई स्वरोजगार बनाउन माओवादी केन्द्रकै उम्मेदवारले जित्नुपर्ने पक्षमा हुनुहुन्छ । ‘माओवादी कै पालामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्वरोजगार कार्यक्रम आयो,’ उहाँले भन्नुभयो, ‘बास्तविक किसानको पार्टी माओवादी नै हो । त्यसैले अहिले वडामा पनि माओवादीकै उम्मेदवारलाई जिताउने हो ।’
खुदीखोलाका रुपेश परियारले अहिलेसम्म देशैभरि माओवादी केन्द्रले समावेशी ढंगले उम्मेदवार उठाएको बताउनुभयो । दलित, महिला, जनजाति, अल्पसंख्यकको प्रतिनिधित्वमा माओवादीको स्पष्ट दृष्टिकोण रहेकोले आफूले भुवानीलाई नै भोट दिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
को हुन् भुवानी ?
पोखरा–३२ तल्लो गगनगौंडा ठूलोपाटनका भुवानीप्रसाद पौडेलले २०४१ सालमा अखिल (पाँचौं) बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभयो ।०४६ अघि नेकपा (माले) को पार्टी सदस्य हुनुभयो । ०५५ मा एमाले फुट्दा महाकाली सन्धीको विरोध गर्दै बामदेव गौतम नेतृत्वको मालेमा समाहित हुनुभयो । ०५७ मा माओवादी विचारधाराले उहाँलाई आकर्षित ग¥यो । त्यसयता उहाँ निरन्तर माओवादी केन्द्रमा सक्रिय हुनुहुन्छ र हाल माओवादी केन्द्रका महानगर समिति सदस्यको जिम्मेवारीमा रहनुभएको छ ।
वडामा हरेक सामाजिक काममा उहाँ पहिलेदेखि नै सक्रिय हुनहुन्छ । विकास निर्माणका लागि महानगर, प्रदेश र संघ सरकारसम्म लबिङ गर्न पुग्नुहुन्छ । आगामी चुनावबाट वडाध्यक्षमा निर्वाचित भएर वडामा विकासको ‘मोडल’ देखाउने उहाँको योजना छ । ‘यही वडाको ढुंगा, गिट्टी, बालुवाबाट महानगरले करोडौं राजस्व संकलन गर्छ तर वडामा लगानी गर्दैन,’ उहाँले भन्नुभयो, ‘म निर्वाचित भएपछि वडामा थप बजेट ल्याउन पहल गर्नेछु ।’
सिंचाइ, नहर व्यवस्थापन, तटबन्ध, बाढी, पहिरो नियन्त्रण, सरकारी जग्गा, मठमन्दिरको संरक्षण, सुकुम्बासी समस्या समाधान, कृषि जोन स्थापना, युवा स्वरोजगार लगायतका काम आफूले गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । पोखरा–३२ मा माओवादी केन्द्रबाट महिला खुल्ला सदस्यमा गंगादेवी पौडेल, दलित महिला सदस्यमा वसन्ती विक, खुल्ला सदस्यमा अर्जुन मल्ल र गोकुल विक उम्मेदवार हुनुहुन्छ ।
