हिमाली आवाज । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सवैभन्दा ठूलो पोखरा महानगर पालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट शुक्रबार साँझ ७ः३० बजे ७२ हजार ९१८ मत गणनाको घोषित परिणाम अनुसार प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४४२ मतान्तरले अघि हुनुहुन्छ ।
आचार्यले २९ हजार ८०७ मत प्राप्त गर्दा उहाँका प्रत्याशी कृष्णबहादुर थापाले २६ हजार ३६५ मत सहित पछ्याइरहनुभएको छ ।
यसैगरी उपप्रमुखमा पनि गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाट अघि हुनुहुन्छ । रानाभाटले ३० हजार २६० मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जुदेवी गुरुङको ३० हजार १७६ मत ल्याउनुभएको छ ।
पोखरा महानगरका ३३ वडा मध्ये हालसम्म १८ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १३ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ ।
नेपाली काँग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६ र २७ नं वडा जितेको छ । नेकपा(एमाले)ले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ ।
पोखरा महानगरको गत वैशाख ३१ गतेदेखी मतगणना सुरु भएकामा हालसम्म आधाभन्दा बढी मत गणना सकिएको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

