गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम:स्वास्थ्य क्षेत्र प्राथमिकतामा

हिमाली आवाज । गण्डकी प्रदेश सरकारको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार विकासलाई समेत जोड दिएको छ ।

गण्डकी प्रदेश सभाको आजको विशेष वैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको वार्षिक नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले भौतिक पूर्वाधारका अतिरिक्त गण्डकी प्रदेश सरकारले स्वास्थ्य र सामाजिक क्षेत्रमा विशिष्टकार्य सम्पादन गर्दै आएको बताउनुभयो ।
सरकारले नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बताउँदै उहाँले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपचारको प्रबन्ध मिलाएको बताउनुभयो ।

प्रदेशभित्र सडकमा कुनै पनि नागरिक बस्न नपरोस भनी उद्धार तथा संरक्षणको व्यवस्था मिलाएको बताउँदै उहाँले कोभिड १९ महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक शैक्षिक वृत्ति उपलब्ध गराई मानवीय र नागरिक कल्याणका महवपूर्ण जिम्मेवारी निर्वाह गरेको बताउनुभयो ।

“सरकारले विभिन्न प्रदेशसँग पर्यटन, उद्योग, व्यापार लगायतका क्षेत्रमा अन्तर सम्बन्ध विकास गर्दै लगेको छ ”, उहाँले भन्नुभयो, “सरकारले नागरिक चाहना बमोजिमको विकासका लागि सक्दो प्रयास गर्दै आएको छ । प्रदेशको खर्च क्षमता क्रमशः वृद्धि हुँदै गएको छ । आर्थिक वृद्धि दर बढेर ६.१७ प्रतिशत पुगेको छ ।” सातवटै प्रदेश मध्ये गण्डकी प्रदेश उच्च आर्थिक वृद्धि भएको दोस्रो प्रदेश बन्न सफल भएको उहाँले बताउनुभयो ।

प्रदेशको अर्थतन्त्रको आकार फैलिनुका साथै आन्तरिक राजस्वमा सुधारहुँदै गएको बताउँदै उहाँले सामाजिक र आर्थिक सूचकमा सुधार हुँदै गएको र यसले प्रदेश सरकारका क्रियाकलापहरू सकारात्मक दिशातर्फ उन्मुख भएको पुष्टि हुने उल्लेख गर्नुभयो ।

विगत दुई वर्षदेखि विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीले नागरिकको स्वास्थ्य गम्भीर जोखिममा रहेको र सामाजिक जनजीवन र आर्थिक क्रियाकलाप पूरै संकुचित भएको उल्लेख गर्दै उहाँले उत्पादन, वितरण तथा उपभोग प्रणालीमा असन्तुलन भएको र
अत्यन्त न्यून स्रोत साधन तथा अनुभव हुँदाहुँदै पनि प्रदेश सरकारले पूर्ण सुझबुझका साथ कोरोना महामारी विरुद्धको लडाइँमा सफलता प्राप्त गरिरहेको बताउनुभयो ।

सबै प्रदेशवासीले पूर्णखोप प्राप्त गरेको र १९ प्रतिशतले अतिरिक्त डोज खोपसमेत लिएको भन्दै नीति तथा कार्यक्रममा थला परेको नागरिक जनजीवनले पुनः गति समातेको उल्लेख छ । आर्थिक क्रियाकलाप क्रमशः लयमा फर्कदैँ गरेको अवस्थाका साथै सेवा उद्योगले विस्तारै पुन र्जीवन पाउँदै गरेको भनिएको छ ।

सरकारले प्रदेश स्वास्थ्यनीतिको कार्यान्वयनका लागि आवश्यक प्रबन्ध मिलाइने र प्रदेशमा जनसंख्या व्यवस्थापनको लागि प्रदेश जनसंख्या नीति तर्जुमा गरी लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
नीति कार्यक्रमको पूर्ण पाठ यसप्रकार छ ।

गण्डकी प्रदेश आब २०७९।८० को नीति तथा कार्यक्रम

 

Comments
Loading...