हिमाली आवाज । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले प्रदेशसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट कार्यान्वयन हुन सक्ने र प्रदेशले धान्न सक्ने खालका योजना समावेश गरेर ल्याइएको बताउनुभएको छ ।
बजेटका सम्वन्धमा मन्त्रालयले आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाँले काल्पनिकतामा रमाएर आम्दानी विश्लेषणनै नगरी कार्यान्वयन नहुने महत्वकाङ्क्षी कार्यक्रम बजेटमा प्रस्तुत नगरिएको र कार्यान्वयन योग्य, स्रोतका दृष्टिले धानिन सक्ने र धान्न सक्ने खालको रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“हाम्रो स्रोत प्राप्तिको अवस्था, खर्च गर्न सक्ने क्षमताको विश्लेषण गरी यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरिएको छ ।”
सुशासन, सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने, स्रोतको प्रभावकारी उपयोग, प्रशासनिक खर्चमा मितव्ययिता नीति अवलम्वन गर्ने र खर्चको कोणबाट प्रदेशले बजेट कार्यान्वयन पूर्ण रुपले गर्न सक्ने गरी ल्याइएको मन्त्री बरालले बताउनुभयो ।
बजेटमा कृषि प्रवद्र्धन र व्यावसायिक उत्पादन, कृषियोग्य जमिनमा सिँचाई सुविधा विस्तार, आधारभूत खानेपानीमा सबैको पहुँचको सुनिश्चितता, आधारभूत स्वास्थ्य, पूर्वाधार विकास, समावेशिता र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
अर्थमन्त्री बरालले भन्नुभयो,“सीमित स्रोतबाट आवश्यकताहरुलाई प्राथमिकिरण गरी क्रमशः पूरा गर्दै लैजानुपर्ने वर्तमान यथार्थता हो । बजेटले सबैका विविध चाहनालाई नसमेटको हुनसक्छ तर आधारभूत आवश्यकतालाई सम्वोधन गर्दै प्रदेशलाई आगामी दिनमा आत्मनिर्भर बनाउने र समृद्धिको मार्गमा अगाडि बढाउनेतर्फ बजेट केन्द्रित छ ।”
बजेटमा जनचाहनाको सम्वोधन गर्न र प्रदेश समितिको दिशामा अघि बढाउन एक निर्वाचन क्षेत्र एक कृषि सडक, सङ्घ, प्रदेश र स्थानीय तहसँगको साझेदारीमा कृषि उत्पादनमा आत्मनिर्भर कार्यक्रम र ‘कृषक टप अप ग्राण्ट’ जस्ता कार्यक्रम समेटिएको मन्त्री बरालले बताउनुभयो ।
यसैगरी लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत महसुलमा छुट, नदीमा आधारित विकास गुरुयोजना, मुस्ताङ कालीगण्डकीको जग्गा उकास र स्याउ खेती, जलाशयमा आधारित सिँचाई आयोजना, विद्युतीय चार्जिङ स्टेशन स्थापना र विद्युतीय सवारी साधनको प्रयोगमा जोड, सिक्दै कमाउँदै कार्यक्रम, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र तथा निःशुल्क स्वास्थ्य परीक्षण, डायलासिस सेवा विस्तार लगायतका कार्यक्रम पहिलो पटक बजेटमा समावेश गरिएको बरालले जानकारी दिनुभयो ।
मन्त्री बरालले विगतदेखी सञ्चालनमा रहेका प्रदेश गौरवका सडक, एक निर्वाचन क्षेत्र एक सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडक, विभिन्न प्रादेशिक सडक, सडक पुल र झोलुङ्गे पुल लगायतका पूर्वाधार निर्माणका कार्यक्रमहरुलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।
प्रदेश सरकारले बुधबार आगामी वर्षका लागि रु ३५ अर्व ९० करोड ९० लाखको बजेट ल्याएको थियो । विनियोजित रकम मध्ये चालुतर्फ रु १३ अर्व २६ करोड ८८ लाख ५४ हजार र पूजीगततर्फ रु २२ अर्व १४ करोड एक लाख ४६ हजार तथा वित्तीय व्यवस्था तर्फ रु ५० करोड छ ।

