पोखराको हेमजामा ३०० भन्दा बढी घर डुबानमा, पहिराले दुई घर बगायो

हिमाली आवाज । गएरातिदेखी परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका– २५ हेमजाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् ।वर्षापछि हेमजाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घरहरु डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताउनुभयो ।

यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्ण रुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ ।डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताउनुभयो । बस्तीमा बाढी पस्न थालेपछि रातिनै स्थानीयहरु सुरक्षित स्थानतर्फ लागेकाले मानविय क्षति हुन पाएको थिएन ।

उहाँले भन्नुभयो,“भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरेखोलाहरु उर्लिएर आउँदा घरहरु डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपन्क्षीतर्फ धेरै क्षति पु¥याए पनि मानविय क्षति भएको छैन ।”

घरहरु डुबानमा परेपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा लगिएको थियो । उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् ।जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताउनुभयो ।यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मला स्थित स्यालघारीमा रामबहादुर मगरको घर पहिरोमा बगेर पूर्ण क्षति भएको छ ।

यसैगरी अर्को एक घर पहिरामा झुन्डिएको अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नु पर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिनुभयो । पहिराबाट विस्थापितहरुका लागि आमा समुह र  सहकारी भवनको प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

Comments
Loading...