विश्वविद्यालयमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गरौं : मन्त्री पौडेल

हिमाली आवाज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

पोखरा विश्वविद्यालयको रजत जयन्ती समारोह एवं स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले विश्वविद्यालयमा विभिन्न माग राखेर गरिने तालाबन्दीबाट शैक्षिक विकासमा अवरोध आउने भएकाले सोको अन्त्य गर्नुको विकल्प नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन छ, यसबाट विद्यार्थी एवम् विश्वविद्यालयको उन्नयन र विकासमा असर पर्छ, त्यसलाई वार्तामार्फत समाधान खोज्नुपर्दछ ।”

उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भएकाले विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले सङ्कल्प गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।मन्त्री पौडेलले देशका ११ वटा विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

उच्च शिक्षाको नाममा विदेश गएका विद्यार्थी मध्ये ९१ प्रतिशत विद्यार्थी रोजगारीका लागि त्यहाँ पुगेको उल्लेख गर्दै मन्त्री पौडेलले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सके विदेश जाने प्रवृत्तिलाई कम गर्न सकिने औंल्याउनुभयो ।

उहाँले प्रादेशिक राष्ट्रिय योजना आयोगसँग समन्वय र सहकार्य गर्दै गण्डकी प्रदेशको विकासमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले शिक्षक तथा प्राध्यापकहरुले दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक विचारधाराहरुलाई विश्वविद्यालय तथा उच्च शिक्षाको नीतिगत, संरचनागत र गुणस्तर सुधारका लागि सिर्जनात्मक बहसमा ल्याउनुपर्ने विद्यामान अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा विश्विद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, पूर्व उपकुलपतिहरु प्राडा केशरजङ्ग बराल, प्राडा खगेन्द्र प्रसाद भट्राई, प्राडा चिरञ्जिवि प्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, शिक्षासेवी अशोक पालिखे, पोखरा विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रकाशमान गुभाजु, विश्वविद्यालयका रजिष्ट्रार डा दीपक बहादुर भण्डारी लगायतले यस क्षेत्रको शैक्षिक विकासमा विश्वविद्यालयले उल्लेखनीय योगदान गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा विश्वविद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा पूर्वउपकुलपतिहरु, रजिष्ट्रार र विश्वविद्यालय स्थापनामा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

Comments
Loading...