हिमाली आवाज । नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले देशलाई आगामी पाँच वर्ष स्थायित्व दिनका लागि गठबन्धन गरेर निर्वाचनमा जान लागिएको बताउनुभएको छ ।
पार्टी निकट समाजवादी प्रेस सङ्गठन गण्डकी प्रदेशको प्रथम भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले दक्षिणपन्थी खतरा विद्यमान रहेकाले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“उदार लोकतन्त्रको वकालत गर्ने नेपाली कांग्रेस र समाजवादी राजनीतिमा विश्वास गर्ने कम्युनिष्टको मेलमिलापबाट आगामी निर्वाचनमा जानुपर्नेछ । विपरित र फरक राजनीतिक आदर्श बोकेका शक्ति भएपनि लोकतन्त्र र राजनीतिक स्थायित्वका लागि एक ठाउँमा मिल्नुपर्ने अवस्था छ ।”
नेता खतिवडाले सञ्चार माध्यमले जनताको शक्तिलाई बलियो र सबल बनाउन साथ दिनुपर्ने बताउनुभयो । समाजवादी प्रेस सङ्गठनले जनपक्षिय र देशभक्तिलाई प्रतिनिधित्व गर्दै समाजवादका विरोधलाई प्रहार गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले परिर्वतन विरोधीले जनतालाई भ्रम सिर्जना गर्ने प्रयास गरिरहेकाले पत्रकारहरुले सही र वास्तविक सूचना प्रेसित गरेर जनतालाई स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीका स्थायी कमिटीका सदस्य एवं पूर्वमन्त्री तुलबहादुर गुरुङ, पोखरा महानगरपालिका प्रमुख एवं नेकपा एकीकृत कास्कीका अध्यक्ष धनराज आचार्य, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल, गण्डकी प्रदेश संयोजक गणेश पौडेल लगायतले पत्रकारिता र पत्रकारको हक अधिकारका बारेमा भनाई राख्नुभयो ।

