हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहनुभएका पवनकुमार प्रजापतिले उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेर आफूलाई मत मात्र नभएर मन पनि दिन मतदाताहरुसमक्ष आग्रह गर्नुभएको छ ।
उद्योगी व्यवसायीको मत त स्वभाविक रुपमा आफूलाई नै आउने विश्वास गर्दै उहाँले नेतृत्वमा रहेर काम गर्नका लागि मनैदेखि सहयोग गर्न उद्योगी व्यवसायीहरुसमक्ष अनुरोध गर्नुभयो ।
‘घरदैलोको क्रममा म लगाएको मेरो टिमप्रति उद्योगी व्यवसायीहरुको जुन विश्वास देखिएको छ, त्यसलाई आधार मानेर हेर्दा मैले प्रशस्तै मत पाउने कुरामा दुईमत छैन ।’ प्रजापतिले भन्नुभयो,‘तर म निर्वाचित भएर काम गर्नलाई उहाँहरुले मलाई मनैदेखि सहयोग पनि गर्नुपर्छ भन्ने म चाहन्छु । त्यसैले मैले हरेक व्यवसायीलाई आफूले मतसँगै मनदेखिको सहयोग पनि मागेको छु ।’
प्रजापतिले आफू र आफ्नो टिम निस्वार्थ रुपमा संघको जीवन्तता र उद्योगी व्यवसायीको लागि अभियन्ता बनेर काम गर्नका लागि चुनावी मैदानमा होमिएको बताउनुभयो ।
विभिन्न १७ बुंदे घोषणापत्रसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रजापति समूहले शनिबार मनोनयन दर्ता गरिसकेको छ । मनोनयन दर्ताका लागि पोखरा उद्योग वाणिज्य संघमा पुगेको समूहलाई ठुलो संख्यामा मतदाता उद्योगी व्यवसायीहरुले स्वागत गरेका थिए । साथै मनोनयन दर्ताको क्रममा पोखरा उद्योग वाणिज्य संघ परिसरमा पुगेका उद्योगी व्यवसायीहरुले पवन प्रजापति समूहलाई जितको अग्रिम शुभकामना समेत दिएका थिए ।
प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी हुनुुहुन्छ ।

