हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचन अघि नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताउनुभएको छ ।
समाजवादी प्रेस संगठनले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्र सहित चुनावी तालमेल भएपनि एकता नहुने स्पष्ट पार्नुभयो । माओवादी र समाजवादीले आआफ्नो चुनाव लड्ने समेत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“विगतको निर्वाचनमा माओवादी र एमालेकाबीच साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिलेपनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन । ”

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले आफू सँधै बामगठबन्धन र कम्युनिष्ट एकताका पक्षमा रहेपनि बाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुची नदेखाएको जिकिर गर्नुभयो ।
सत्ता गठबन्धनका दलहरुकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने बताउनुभयो ।सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,“देशको राष्ट्रियता,स्वतन्त्रता,स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउनु आवश्यक छ ।”
नेता खनालले नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपतिले संविधानअनुकुल निर्णय लिनुपर्ने र संविधानको सीमाभित्र रहनुपर्नेमा जोड दिनुभयो ।
अहिलेको नागरिकता विधेयक यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको विधेयककै रुप रहेको नेता खनालले जिकिर गर्नुभयो ।
